सांसद यादवको राजीनामा फिर्ता हुने

94
  •  
  •  
  •  

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद डा सूर्यनारायण यादवको राजीनामा फिर्ता हुने भएको छ ।

सांसद यादवले सभामुख कृष्णबहादुर महरा समक्ष सोमबार राजीनामा पत्र बुझाएका थिए ।
पार्टीसँग छलफल नगरी राजीनामा बुझाएका डा.यादव पार्टी अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेपछि राजीनामा फिर्ता गर्न तयार भएका हुन् । डा.यादवको राजीनामा आजै फिर्ता हुने जनाइएको छ ।

वालरोग विशेषज्ञ डा.यादव गैरराजनीतिक व्यक्ति रहेकाले काम गर्न समस्या भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

पेशाले चिकित्सक यादवले आफू मधुमेह र उच्च रक्तचापको बिरामी भएको जनाउँदै राजीनामा दिएका हुन् ।

समाजवादी पार्टी नेपालमा संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार डा.यादवले पहिलेदेखि नै स्वास्थ्यमा समस्या भएको तथा पेशा र राजनीतिलाई सँगसँगै लैजान अफ्ठ्यारो भइरहेको गुनासो गर्दै आएका थिए ।

राजीनामापछि भने उनले आफ्नो मृगौलामा समेत समस्या भएको जानकारी गराएका छन् ।
सांसद भएपछि बैठकमा सहभागी हुन, काठमाडौं र निर्वाचन क्षेत्र गइरहनु पर्दा उनको चिकित्सा अभ्यास प्रभावित बनेको थियो । अर्को तर्फ निर्वाचन क्षेत्र भ्रमण नगरेको भन्दै उनको आलोचना समेत हुने गरेको थियो ।


  •  
  •  
  •