संसद बैठक स्थगनप्रति कांग्रेसको आपत्ति

114
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साउन ८ गतेसम्म प्रतिनिधिसभा बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले मुलुक बाढी, पहिरो र डुबानको राष्ट्रिय विपत्तिमा परेका बेला संसदमा छलफल गरेर अघि बढनुपर्नेमा संसद बैठकनै स्थगित गरेर केपी ओली नेतृत्वको सरकारले बदमासी गरेको आरोप लगाए ।

सभापति देउवाले सोमबार संघीय संसद भवन, नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै बाढी, पहिरो र डुबान पीडितको पक्षमा संसदमा पनि छलफल गरेर अघि बढ्नुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा बैठक स्थगित गराएकोमा निन्दा समेत गरे ।

उनले भने, ‘विपत्तिका बेला सिंगो संसद एकतावद्ध भएर अघि बढ्न आफ्नो पार्टीले सो विषयमा छलफल गर्न संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो । तर सरकारले राष्ट्रिय संकटमा बेलामा पनि सो विषयमा संसदमा छलफल गर्न नदिन प्रतिनिधिसभा बैठक अचानक स्थगित गरायो ।’

सभापति देउवाले राष्ट्रिय संकटका बेला संसद बैठकमा सो सम्बन्धमा छलफल गर्ने संसारभरकै संसदीय प्रचलन भएपनि सभामुख कृष्णबहादुर महराले सरकारसँग डराएर प्रतिनिधिसभा बैठक स्थगित गरेको बताए ।


  •  
  •  
  •