संसद बैठक : पारमाणविक विधेयक दफावार छलफलको लागि पठाइयो

122
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : प्रतिनिधिसभाले आइतबारको बैठकमा ‘पारमाणविक विधेयक २०७५’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।

आइतबारको दोश्रो बैठकले विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘पारमाणविक विधेयक २०७५’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मति स्वीकृत भएको थियो ।

बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘मुलुकी संहिता सम्बन्धी’ केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका थिए ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले लेखापरीक्षण विधेयक २०७५, विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५, विदेशी लगनी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५, सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७५, प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक २०७५का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका थिए ।

बैठकमा सचिव योगीले जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५, भू–उपयोग विधेयक २०७५, नागरिक लगानी कोष (दोश्रो संशोधन) विधेयक २०७५ र विज्ञापन (नियमन गर्ने ) विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए ।

पहिलो बैठकमा राष्ट्रिय जनता पार्टीका सांसहरुले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बैठक अवरुद्ध पारेका थिए । दोश्रो बैठकमा सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले केहीबेरमा बैठकलाई सम्बोधन गर्ने भन्दै त्यसबेला सम्म आसन ग्रहण गर्न आग्रह गरेपछि बैठक सुचारु भएको थियो ।


  •  
  •  
  •