टिकापुर घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

चौधरीको सांसद पद खारेज हुने
482
  •  
  •  
  •  

कैलाली, २२ फागुन(ओएनएस) : जिल्ला अदालत कैलालीले संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ ।

फाइल तस्बिर

न्यायाधीश परशुराम भट्टराईको इजलाशले २०७२ भदौ ७ गते टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई २०÷२० वर्ष कैद गर्ने फैसला गरेको हो ।

अदालतले रेशमलालसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह उपनामका सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम डगौरा चौधरीलाई जन्मकैद गर्ने फैसला सुनाएको छ ।

श्रवण नाबालक भएकाले सजाय आधा गर्दै १० वर्ष जेल बस्नुपर्ने उक्त फैसलामा उल्लेख गरिएको छ ।

अदालतले घटनामा दोषी रहेको आरोपमा जेलमा रहेका २७ जनामध्ये ११ जनालाई जन्मकैद, १२ जनालाई तीन वर्षको कैद र तीनजनालाई पूर्ण सफाइ दिने फैसला गरेको हो ।

तनावर अलि जागा, रामनरेश चौधरी र विश्राम चौधरीलाई भने घटनामा दोषी नदेखिएको भन्दै अदालतले पूर्ण सफाइ दिएको छ ।

पूर्ण सफाइ पाएका तीनजनासहित ३ वर्षको कारागारको सजाय पाएका १२ जना गरी १५ जनालाई बुधबार नै थुनामुक्त गर्ने तयारी छ ।

घटनापछि फरार रहेका रेशम चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । उनलाई त्यहाँबाट जेल सारेर काठमाण्डौ ल्याइएको छ । जेलमै भएका बेला सांसद चौधरीले सांसदको सपथ समेत लिएका थिए ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजना प्रहरी र एकजना नाबालकको ज्यान गएको थियो ।

चौधरीको सांसद पद खारेज हुने
उच्च सुरक्षा अधिकारी र नाबालक गरी ९ जनाको हत्या घटनामा अभियुक्त रहेको अवस्थामा हतारहतार सपथ खुवाइएका रेशम चौधरीको सांसद पद खारेज हुने भएको छ ।

टीकापुर घटनामा दोषी ठहर हुने जिल्ला अदालतको फैसलाले निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने संघीय संसदमा प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

पाण्डेले नैतिक पतन देखिने फौजदारी कसुर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने उनको भनाइ छ ।
उनले भने, ‘अदालतबाट दोषी ठहर भएपछि सांसद रहने कानुनी व्यवस्था छैन । संघीय संसदको नियमावलीले उनलाई पदमा जान दिँदैन ।’

यस्तो छ फैसला


  •  
  •  
  •