काठमाडौं । संसद् विघटनविरुद्ध परेका रिटमा सुनुवाइ शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सुनुवाइ जारी छ ।
सो सुनुवाइ नेपाल बार एसोसिएसनको हलमा प्रत्यक्ष हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । राणाको इजलासमा आज संसद् विघटनविरुद्ध दायर ११ वटा रिट पेसीमा छन् ।
राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई दायर भएका रिट निवेदन प्रधानन्यायाधीशको एकल इजलासमा तोकिएको हाे ।
विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले मङ्गलबार रिट निवेदन दायर गरेका थिए । अन्य सबै निवेदन कानून व्यवसायीबाट परेको हो ।
प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिसका आधारमा भए/गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न निवेदनमा माग गरिएको छ ।