संविधान संशोधन विधेयक आज पारित हुँदै

339
  •  
  •  
  •  

काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदैछ । संसद भवन बानेश्वरमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयकमाथि दफावार छलफल गरेर पारित गर्ने कार्यसूची रहेको छ ।

हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संशोधन विधेयक पारित हुनेछ  । सदनमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा रहकाले प्रस्ताव सहजै पारित हुने देखिन्छ ।

फाइल तस्बिर

जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो ।

संविधान संशोधन विधेयकमाथि एक संशोधन प्रस्ताव पनि दर्ता भएको छ । पार्टीले प्रस्ताव फिर्ताको लिखित निर्देशन नै दिए पनि प्रस्ताव फिर्ता भएको छैन । प्राप्त संशोधन स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम अधिकार सभामुखमा हुनेछ  ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो । नक्साअनुसारको निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागिएको हो ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् । नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूले समर्थन जनाइसकेका छन् । गएको जेठ २७ गते प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरूले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाएका थिए ।


  •  
  •  
  •