सांसदलार्इ फौजदारी अभियोग लागे स्वतः निलम्बन, प्रधानमन्त्री महिनाको २ पटक संसदमा आउनैपर्ने

250
  •  
  •  
  •  

काठमाडाैँ, ४ बैशाख (अाेएनएस) : प्रतिनिधिसभा नियमवाली मस्यौदा समितिका संयोजक सांसद कृष्णभक्त पोखरेलले सांसदलाई फौजदारी अभियोगमा मुद्दा दर्ता भए वा पुर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था गर्न लागिएको बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा संयोजक पोखरेलले विगतमा मुद्दा लागे पनि सांसद पद रहिरहने व्यवस्था भएपनि अब फौजदारी अभियोगमा कुनै पनि सांसदलाई मुद्दा लागेमा, पुर्पक्षका लागि थुनामा राखिएमा उक्त सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने तयारी भएको बताए ।

मुद्दाको फैसलाले सांसद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पदमुक्त हुने व्यवस्था गर्न लागिएको पोखरेलले बताए । कुनै सांसद पदमुक्त भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर पदपूर्ति गर्ने व्यवस्था नियमावलीले गर्ने उनको भनाई छ ।

संयोजक पोखरेलले अब बन्ने नियमावलीले महीनाको दुई पटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सासंदहरुले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको बताए ।

संयोजक पोखरेलले भने ‘महीनाको दुईपटक सिधा प्रश्न प्रधानमन्त्रीसँग गर्ने व्यवस्था गर्न लागिएको छ र जवाफदेहिता बढाउनका लागि प्रधानमन्त्रीले सासंदको प्रश्नको जवाफ दिनुपर्ने हुन्छ।,’

विगतमा सांसदहरुले बोलेका कुरा रेकर्ड मात्रै हुने तर अर्थ नरहेन परिपाटीको अन्त्य गर्दै अब प्रधानमन्त्रीले मात्र नभइ सांसदले विशेष र शून्य समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था पनि नियमावलीमा राख्न लागिएको उनले जानकारी दिए ।


  •  
  •  
  •