सानोचौरवासीले अहिलेसम्म पाएनन् सरकारको १५ हजार

191
  •  
  •  
  •  

काभ्रे (सानोचौर), असार १४ । रेशम रोक्का जो अहिलेसम्म पनि सरकारले अस्थायी टहरा निर्माणका लागि जस्तापाता खरिदका लागि राहतस्वरुप प्रदान गर्ने भनिएको पन्ध्रहजार रुपैयाँका लागि भौतारिइरहेका छन् । कहिले सम्बन्धित नगरपालिकाको वडा कार्यालय त कहिले जिल्ला प्रशासन कार्यालयमा उनको आवतजावत बाक्लो हुँदै गएको छ । कारण हो– भर्खरै सुरु भएको बर्षा । काभ्रेको पाँचखाल नगरपालिकाका– ५ सानोचौरका स्थानीयवासी रेशम गत वैशाख १२ गतेको भूकम्पपछि भत्किएको आफ्नो घरमा बस्न छाडिसकेका छन् । अहिले उनी आफ्नै ज्यालामजदूरीको कमाइबाट केही बाँस खरिद गरी त्रिपालको छानो हालिएको कटेरामा रात गुजारिरहेका छन् ।

‘खोइ सर सरकारले अस्थायी टहरा निर्माण गर्न जस्तापाता खरिदका लागि पन्ध्रहजार रुपैयाँ दिने भनेको थियो,’ लामो सुस्केरा हाल्दै उनी भन्छन्, ‘अहिलेसम्म वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउन थालेको झण्डै डेढ महिना भइसक्यो तर पैसा हात पर्न सकेको छैन्, एउटा भूकम्पपीडित परिचय पत्र मात्रै हात लागेको छ ।’ उनीमात्रै होइन्, वडा नं. ५ अन्तर्गतको सानोचौर र ढुङ्गानावेसी गाउँका करिब दुई सय घरपरिवारले अस्थायी टहरा निर्माणका लागि सरकार दिने भनेको जस्तापाता खरिदवापतको रकम पाउन नसकेर भौतारिइरहेको अवस्था छ ।

ति गाउँका वासिन्दाले अहिलेसम्म सरकारी राहतका नाममा नगरपालिकाले उपलब्ध गराएको १० किलो चामल र कारितास नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले उपलब्ध गराएको त्रिपाल, ब्लाकेट र केही घरायसी सामग्रीवाहेक अन्य केही पाएका छैनन् । सबैको एउटै स्वर थियो, ‘खोइ हामीलाई हेपेका हुन् की हाम्रा लागि बोलिदिने कोही नभएकोले हो यस्तो ज्यादती खेप्नुपरेको छ ।’ भूकम्प गएको एक सातापछि पानी परेपछि रुझ्दै रात विताएकी ढुङ्गानावेसीकी पार्वती ढुङ्गाले भूकम्पपछिको दश दिनपछि कारितास नेपालले त्रिपालसहित केही घरायशी प्रयोजनका अत्यावश्यक सामग्री वितरण गरेको थियो । कारितासले सो क्षेत्रमा विगत केही वर्षदेखि कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेकाले आफ्नो कार्यक्षेत्रका आधारमा तत्काल राहतस्वरुप त्रिपाल र केही सामग्री वितरण गरेको जनाएको छ ।

सानोचौरका २० घर दलित र ढुङ्गानावेसीका करिब डेढ सय परिवारलाई राहतस्वरुप कारितासले पहिलोचरणमा त्रिपाल र केही सामग्री वितरण गरेको थियो । कारितास नेपालले अहिले भूकम्पप्रभावित १४ जिल्लामा त्रिपाल, घरायसी प्रयोजनका सामग्रीलगायत वितरण गरिरहेको छ । दोस्रोचरणमा उसले अस्थायी टहरा निर्माणका लागि आफ्नो कार्यक्रम तय गरिसकेको छ । ‘हामीले भूकम्पप्रभावित १४ जिल्लामा पहिलोचरणको कार्यक्रम सम्पन्न गरिसकेका छौँ,’ कारितास नेपालका कार्यक्रम शाखा प्रमुख मणिन्द्र मल्लले भने, ‘अहिलेसम्म हामीले भूकम्पप्रभावित जिल्लाका करिब ४९ हजार घरपरिवारलाई त्रिपाल र घरायसी सामग्री वितरण गरिसकेका छौँ ।’

उनकाअनुसार दोस्रोचरणअन्तर्गतको अस्थायी टहरा निर्माणका लागि तयारी भइरहेको र अर्को सातादेखि सो कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कारितास नेपालले रामेछाप, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा भूकम्पप्रभावितका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोमवारमात्रै कारितास नेपालले पाँचखाल नगरपालिका– १७ का ४ सय ६१ घरपरिवारलाई ब्लान्केट र घरायसी सामग्री वितरण गरेको छ ।

भूकम्पले घर भत्कँदा हात भाँचिएका धर्मबहादुर थापा मगरले कारितासले सोमबार वितरण गरेको राहत सामग्री पाएपछि आरामसँग रात बित्ने बताए । ‘घर छैन् त्रिपालमूनी बस्नुपरेको र सुकुल ओछ्याइए पनि ओढ्ने केही थिएन,’ उनले भने, ‘अब यो ब्लान्केट पाएपछि रात विताउन सहज हुन्छ ।’ कारितासले काभ्रेमा मात्रै ११ हजार परिवारलाई राहतसामग्री वितरण गरेको छ । काभ्रेका कारितास जिल्ला संयोजक कृष्णबहादुर तामाङले भने, ‘हामीले डाँडापारी (दुर्गम) भेगका १० गाविसमा राहत सामग्री वितरण गरिसकेका छौँ ।’


  •  
  •  
  •