चलचित्र ‘साङ्लो’ को गीतविरुद्ध उजुरी

67
  •  
  •  
  •  

काठमाडौं । चलचित्र ‘साङ्लो’ यतिबेला विवादमा मुछिएको छ । फिल्ममा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको डान्सिङ गीतको शब्द चोरिएको भन्दै प्रहरीमा उजुरी परेपछि विवादमा मुछिएको हो ।

यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डकको प्रमुख भूमिका रहेको छ ।

फिल्मको गीत विरुद्ध ‘रुद्रप्रिया’ निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन् ।
शुक्रबार संंगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र फिल्म निर्माण कम्पनी विराज भट्ट प्रोडक्सनको विरुद्ध उजुरी दिएको बताइएको छ ।

प्रहरीले आइतबार दुबै पक्षलाई छलफलका लागि बोलाउने बताइएको छ । सुदीपले ‘रुद्रप्रिया’ का लागि आफूले यो गीत कम्पोज गर्न २ वर्ष अगाडि संगीतकार अधिकारीलाई दिएको बताएका छन् ।

तर, पछि फिल्ममा ‘झ्याम्मै आँखा झ्याम्मै’ गीत राखिएन । गीत भने संगीतकार अधिकारसँग थियो । सुदीप, ‘साङ्लो’ मा आफूले लेखेको गीत राखिएको विषयमा कुनै जानकारी नै नभएको बताउँछन् ।

गीतमा रचनाकारको रुपमा क्रेडिट समेत नदिएपछि आफू प्रहरीमा उजुरी दिन बाध्य भएको उनको भनाई छ । गीतमा रचनाकारमा गायक समेत रहेका निशान भट्टराईको नाम छ ।

सुदीपले गीतमा केही शब्द परिवर्तन गरिएको पनि बताए । क्षतीपूर्तिसहित फिल्मबाट गीत हटाउनु पर्ने उनको माग छ ।


  •  
  •  
  •