
काठमाडौं । बृहत शान्ति सम्झौतामार्फत प्राप्त भएका उपलब्धिहरुलाई सहि ढंगबाट कार्यान्वयनमा ल्याउन नसक्दा ती उपलब्धिहरु नै चुनौतिका रुपमा देखापर्न थालेको भन्दै शान्ति प्रक्रियाका बाँकी महत्वपूर्ण कामहरुलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउन बिहीबार काठमाडौंमा सम्पन्न राष्ट्रिय शान्ति सम्मेलनका वक्ताहरुले जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेम्टेम्बर) का अवसरमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटान, द्वन्द्व, शान्ति तथा विकास विभाग त्रिभुवन विश्वविद्यालय र रोटरी क्लव अफ जावलाखेलको आयोजनामा काठमाडौंमा आयोजित बृहत राष्ट्रिय शान्ति सम्मेलनमा शान्ति सम्झौता कार्यान्वयनको प्रक्रिया लम्बिदै जाँदा प्राप्त उपलब्धिहरु नै चुनौतिका रुपमा रुपान्तरण हुने खतरा बढेको समेत औँल्याइएको छ ।

राष्ट्रिय साझा मुद्दामा सम्पूर्ण राजनीतिक शक्तिहरु एकमत हुनुको विकल्प नभएको समेत कार्यक्रमका वक्ताहरुले बताएका थिए । संक्रमणकालिन न्यायको सवाल सम्बोधन गर्नका लागि अन्तर्राष्ट्रिय मान्यता अनुसार सर्वोच्च अदालतको फैसला, मानवअधिकार आयोगका निर्देशनहरु, पीडितहरुका सरोकारहरुलाई सम्बोधन गर्नेगरी नेपाली परिवेश एवं विशिष्टता अनुरुपको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग ऐन जतिसक्दो छिटो पास गनुपर्नेमा जोड दिइएको थियो ।
त्यसका लागि विषय विज्ञता हासिल गरेका एवं राजनीतिक दलको स्वार्थ भन्दामाथि रहेर राष्ट्रिय स्वार्थमा काम गर्ने स्वतन्त्र एवं निष्पक्ष आयुक्तहरु अयोगमा नियुक्ति गरेर पर्याप्त साधन, स्रोत र जनशक्ति उपलब्ध गराउन सकेमा मात्र संक्रमणकालिन न्यायलाई टुंगोमा पुर्याउन सकिने बताइएको थियो ।

कार्यक्रममा बृहत्त शान्ति प्रक्रियाका यावत् पक्षहरुलाई सम्बोधन गर्नका लागि राजनीतिक रुपमा सहमति र सहकार्यबाट अगाडि बढ्नुको विकल्प नरहेकोमा समेत वक्ताहरुको मत थियो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले शान्ति प्रक्रिया टुंग्याउने सवालमा सवै पक्षले दाउपेचको राजनीति छोडेर दरिलो इच्छाशक्तिका साथ अगाडि आउनुपर्ने बताए ।
सरकार गठन र विघटनमा सहमति र सहकार्य गर्न सक्ने शक्तिहरु संक्रमणकालिन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याएर द्वन्द्वपीडितहरुलाई न्याय दिने सवालमा किन एकमत हुन सकिरहेका छैनन् भन्ने प्रश्न आजको संक्रमणकालिन न्यायको सन्दर्भमा मूल प्रश्नका रुपमा उभिएको तिमिल्सनाको धारणा थियो ।
आफ्नालाई बचाउने र अरुकालाई दण्डित गर्ने सोंच एवं मानसिकताकै कारण अवरोध सिर्जना भएको बताउँदै तिमिल्सनाले शान्ति प्रक्रिया राष्ट्रिय आवश्यकता हो भन्ने मर्मबोधका साथ इमान्दार रुपमा लाग्ने हो भने संक्रमणकालिन न्यायको प्रक्रिया टुंग्याउन कुनै समस्या नरहेको बताएका थिए ।
उनले भने, जहाँसम्म अन्तर्राष्ट्रिय जगतको नेपालको संक्रमणकालिन न्यायप्रतिको सरोकारको प्रश्न हो, यो हाम्रो राष्ट्रिय मुद्वा हो, राष्ट्रिय आवश्यकता हो, हामीले हाम्रै विशिष्टताअनुरुप समाधान गर्छौं भन्ने हो भने उनीहरुलाई विश्वस्त गराउन सकिन्छ ।
शान्ति प्रक्रिया टुंग्याउने सन्दर्भमा द्वन्द्वपीडितहरुको आवाजलाई पनि समेटिनुपर्ने, द्वन्द्वले घाउँ दिएकाहरुलाई निषेध गरेर होइन, उनीहरुलाई समेटेर मात्र संक्रमणकालिन न्यायको प्रक्रिया पुरा हुन सक्छ, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सनाको धारणा थियो ।
कार्यक्रममा तत्कालिन शान्ति वार्ताकार कृष्ण सिटौलाले वृहत शान्ति सम्झौता द्वन्द्वरत पक्ष दुवै बसेर गरिएको ऐतिहासिक, मौलिक एवं पृथक प्रकृतिको परिघटना भएको बताए ।
नेपालका मुख्य राजनीतिक शक्तिको विश्वासका आधारमा खडा गरिएको दस्तावेज भएको र आज पनि हिजोका तिनै शक्ति मुख्य शक्तिका रुपमा रहेको हुँदा बदलाको भावनाले नभएर शान्ति, न्याय र विश्वासको भावनाले अगाडि बढ्ने हो भने सहजै समाधान दिन सकिने सिटौलाले बताएका थिए ।
त्यसैगरी शान्ति वार्ताकार प्रदिप ज्ञवाललीले पीडितहरुलाई केन्द्रमा राखेर संक्रमणकालिन न्याय सम्बोधनको बाटो खोज्नुपर्ने धारणा राखे ।
अर्का शान्ति वार्ताकार देब गुरुङले राजनीतिक दलबीचमा सहमतिबाटै जटिल भन्दा जटिल समस्याको निकास निस्कन सक्ने बताउँदै उनले सवै दलहरुले राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरेका थिए ।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुले रोटरीले द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापना रोटरीको सात प्राथमिकताका क्षेत्र मध्यको एक भएको भन्दै यो क्षेत्रमा रोटरीले काम गरिरहेको बताए ।
रोटरी इन्टरनेशनलले ७ वटा पिस सेन्टर नै स्थापना गरेर द्वन्द्व व्यवस्थापन तथा शान्ति स्थापनाको कार्यका लागि आवश्यक जनशक्ति उत्पादन तथा शान्ति स्थापनानार्थ पैरवी गरिरहेको डिस्ट्रिक्ट गभर्नर ध्वजुले उल्लेख गरेका थिए ।
कार्यक्रममा शान्ति वार्ता सहजकर्ता दमनानाथ ढुंगानाले शान्ति प्रक्रिया आजसम्म पनि अवरोधको अवस्थामा रहनु राष्ट्रिय लज्जाको विषय भएको बताए । उनले दलहरुले शान्ति प्रक्रियालाई टुंग्याउने सवालमा उदासिनता साँधेको बताउँदै राष्ट्रिय आवश्यक्तालाई नजरअन्दाज गरिन नहुने बताए ।
कार्यक्रममा रोटरी क्लव अफ जावलाखेलका अध्यक्ष तथा द्वन्द्वविद् डा.विष्णुराज उप्रेतीले विस्तृत शान्ति सम्झौता कार्यान्वयनका १७ वर्ष उपलब्धि, चुनौति र अवको बाटो सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए भने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका शान्ति तथा द्वन्द्व व्यवस्थापन कमिटीका चेयर सुदिप पाठकले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा राजनीति शास्त्री मीना बैद्य मल्ल लगायतका तत्कालिन वार्ताकार एवं वार्ता सहजकर्ताले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम त्रिभुवन विश्वविद्यालय द्वन्द्व, शान्ति तथा विकास संकायकी प्रमुख डा.कुशुम शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन त्रिभुवन विश्वविद्यालय द्वन्द्व, शान्ति तथा विकास विभागका प्राध्यापक डा.पिताम्बर भण्डारीले गरेका थिए । सम्मेलनले काठमाडौं घोषणपत्र समेत जारी गरेको छ ।