संखुवासभा, १९ साउन (ओएनएस) : संखुवासभाको स्याबुन ३ फच्याङ गाउमा गएको पहिरोमा वेपत्तामध्ये ४ जनाको शव भेटिएको छ । पहिरोमा अझै ६ जना हराइरहेका छन् । वेपत्तामध्ये कृतिमान, उनकी श्रीमति देबीमाया र छोरी तुलसा कोइरालाको शव भेटिएको उद्धारमा संलग्न स्थानीयबासिन्दा डम्बरबहादुर श्रेष्ठले बताए । पूर्ण कोइरालाका छोरा प्रज्वल कोइरालाको पनि शव फेला परेको छ । बेपत्ता ६ जनाको खोजी जारी रहेको छ ।
आज बिहान १ बजे घरमाथिबाट खसेको पहिरोले ३ परिवारका १० जना बेपत्ता भएका थिए । उनीहरु सुतिरहेका ३ वटा घर पनि पहिरोले बगाएको छ । पहिरोमा परेर मेयरमान र उनका श्रीमति, तथा पूर्ण कोइरालाका घरमा सुतेका ४ जना भेटिएका छैनन् । पूर्ण कोइरालाका घरमा पाहुना आएका २ जना पनि पहिरोमा बेपत्ता भएको अनुमान गरिएको छ । ३ सय मिटर माथिबाट झरेको पहिरो करिब १ किलोमिटर बगेको छ ।
उनीहरु संगै रहेका ४ वटा घर उच्च जोखिममा छन् । घटनास्थलमा प्रहरीसहित नेपाली सेनाको श्रीदल गुल्मका सेना, अरुण गुल्मका ससस्त्र प्रहरी र नेपाल प्रहरीका ७७ जना सुरक्षाकर्मी सदरमुकाम खाँदबारीबाट उद्धारका लागि घटनास्थल गएका छन् । प्रहरी टोलि भने घटनास्थल पुगिसकेको डिएसपी कमल थापाले बताए । सदरमुकाम खाँदबारीबाट घटनास्थलबाट पुग्न ५ घण्टा पैदल हिड्नु पर्छ । क्षतिको बिबरण आइसकेको छैन ।