संखुवासभा घटनाका मृतक ६ जनाकै शव धरान लगियो

रड प्रहार गरी हत्या भएकाे हुनसक्ने
166
  •  
  •  
  •  


काठमाडौं । संखुवासभा मादी नगरपालिका वडा न. १ उम्लिङमा भएको हत्या घटनामा मृतक ६ जनाकै शवलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
सोमबार राती स्थानीय बौदमान कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो ।
घटना अनुसन्धानको लागि अहिले संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा विशेष टिम घटना लगायत इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज राइको टोलीले अनुसन्धन गरिरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।
घटना अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानको डग शाखाबाट दुईवटा तालिम प्राप्त कुकुर समेत खटाइएको छ । यस्तै संखुवासभाका सबै नाकाहरूमा प्रहरी परिचालन गरिएको छ ।
मादी नगरपालिका वडा न. १ उम्लिङ स्थित खोलागाँउमा बौदमान कार्कीको श्रीमती ८४ वर्षीया पार्वता कार्की घरमा मृत अवस्थामा भेटिएको त्यस्तै छोरा ५२ वषर््ािय तेज बहादुर कार्की घर छेउको रोडको भित्तामा, बुहारी ५२ वर्षीय कमला कार्की र जेठी बुहारी ३२ वर्षीय रञ्जना कार्की घर छेउको खोल्सामा, नाती ११ वर्षीय दिपेन कार्की घर भन्दा अलिक पर खर बारीमा र ७ वर्षीया नातिनी गोमा कार्की बारीमा मृत अवस्थामा फेला परेको थियो ।

मृतक सबैको टाउको र शरीर भर धारिलो हतियार प्रयोग नभई रड प्रहार गरी हत्या भएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
८५ वर्षीय बौदमान कार्की भने सकुसल छन् ।

पूरै गाउँ शोकमा

एकै परिवारका ६ जनाको हत्या भएपछि पूरै गाउँ शोकमा डुबेको वडाध्यक्ष खेमनाथ कटुवालले बताएका छन् । घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले पनि प्रहरीलाई सहयोग गरिरहेको वडाध्यक्ष कटुवालले बताए ।

हत्या बिहान कि राति नै गरिएको हो भन्ने यकिन हुन बाँकी छ । वृद्धअवस्थाका बौदमानले पनि घटनाका बारेमा आफूले थाहा नपाएको बताएका छन् । बेलुकासँगै खाना खाएर सुतेको र बिहान हेर्दा श्रीमती (पार्वता)लाई मृत फेला पारेपछि छिमेकीलाई खबर गरेको बताएका छन् ।
तेजबहादुरका दुई छोराहरू जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ । नरेशकी श्रीमती मुना भने झापामा बस्छिन् ।


  •  
  •  
  •