संखुवासभा सामुहिक हत्या घटना: तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा अनुसन्धान

153
  •  
  •  
  •  

घटनास्थलमा भेला भएका स्थानीय।

काठमाडौं । संखुवासभा मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको विभत्स हत्या घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रहरीको तालिमप्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान सुरु गरेको हो ।

अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ सदस्यहरुको हत्या गरेको हो ।

५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरहरु झिकाइएको र कुकुरहरुलाई घटनास्थलमा लगिएपछि शवहरु उठाइने इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वको टोलीले पनि अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

यत्रतत्र शव

घटनामा ८५ वर्षीय बौदमान कार्की मात्रै सकुशल छन् । उनी कान कम सुन्छन् । आँखा पनि मधुरो देख्छन् । अन्य ६ जनाको भने क्रुरतापूर्वक तरिकाले हत्या गरिएको अवस्थामा यत्रतत्र शवहरु भेटिएको छ ।

पूरै गाउँ शोकमा
एकै परिवारका ६ जनाको हत्या भएपछि पूरै गाउँ शोकमा डुबेको छ । घटनाको अनुसन्धानमा स्थानीय बासिन्दा र जनप्रतिनिधिले पनि प्रहरीलाई सहयोग गरिरहेको वडाध्यक्ष खेमनाथ कटुवालले बताएका छन् ।

हत्या बिहान कि राति नै गरिएको हो भन्ने यकिन हुन बाँकी छ । वृद्धअवस्थाका बौदमानले पनि घटनाका बारेमा आफूले थाहा नपाएको बताएका छन् । बेलुकासँगै खाना खाएर सुतेका उनले  बिहान हेर्दा श्रीमती (पार्वता)लाई मृत फेला पारेपछि छिमेकीलाई खबर गरेका थिए ।

हत्या गरिएकामध्ये पार्वताको शव घरभित्रै थियो भने काम गर्न जाँदा लगाउने कपडा र गम्बुटसमेत लगाएको अवस्थामा तेजबहादुरको शव घरनजिक बाटोमा भेटिएको थियाे ।

कमला र रञ्जनाको शव घरनजिकको खोलामा भेटिएको थियाे । दीपेन र गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरीले जनाएको छ । सबै जनाको हत्या भाग्दाभाग्दै भएको हुनसक्ने अनुमान गरिएको छ ।

तेजबहादुरका दुई छोराहरू जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ भने नरेशकी श्रीमती मुना भने झापामा बस्छिन् ।

सम्बन्धित समाचार

संखुवासभा घटनाः दुई बच्चासहित ६ जनाको हत्या(अपडेट)


  •  
  •  
  •