संजय साहमाथिको मुद्दाः अधिकांश आरोपीले अदालतमा वयान फेरे

189
  •  
  •  
  •  

काठमाडौं ८ बैशाख ।
सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य योजनाकार भनेर प्रहरीले आरोप लगाएको निलम्बित सभासद संजयकुमार साहका सन्दर्भमा अधिकांश आरोपीहरुले अदालतमा वयान फेरेका छन् । प्रहरी समक्ष साहको नाम लिएका उनीहरुले अदालतमा यातना दिई त्यस्तो वयान लिएको न्यायाधीश समक्ष बताएका छन् ।

सिंघानिया हत्या काण्डमा संलग्न रहेको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित सभासद साह, चन्द्रदीप यादव, मुकेश चौधरी, एकलाल भन्ने योगेन्द्र सहनी, रामकरण यादव, ओमप्रकाश यादव, अंशीराईन, विजय भन्ने दीपेन्द्र यादव कुसिऐत, रामविनोद यादव, वन लामा, मनक लामासहित ११ जनामाथि मुद्दा दर्ता गराएको थियो । आरोपीहरुमध्ये दीपेन्द्र, रामविनोद, पवन तथा मनक फरार छन् भन्ने अन्य सात जना विभिन्न आरोपमा यस अघि नै पक्राउ परी पुर्पक्षमा जेलमा छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश राजेन्द्र कुमार आचार्यको इजलासमा जारी सिंघानिया हत्या सम्बन्धी मुद्दाको वयानको क्रममा ओमप्रकाश यादव, योगेन्द्र सहनी, अर्जुन सिंह भन्ने मुकेश चौधरी, चन्द्रदीप यादव तथा रामकरण यादवले आफूलाई निर्दोषमात्र भनेका छैनन, हत्याका मुख्य आरोपी भनिएका निलम्बित सभासद साहको पनि कुनै संलग्नता नरहेको दावी गरेका छन् ।

प्रहरी अनुसन्धानको क्रममा सिंघानिया हत्याको योजना बनाउन निलम्बित सभासद साहले आफ्नो कदम चौकस्थित घरको छतमा पटक पटक बैठक बसेको, १० लाखको सुपारी दिएको तथा होटल रामामा हतियार एवं जलपानको लागी ३० हजार नगद समेत दिएको वयान दिएका चन्द्रदीप यादवले न्यायाधीश समक्ष संजयकुमार साहसंग चिनजान भए पनि उनीसंग हत्या योजना सम्बन्धी कुनै कुरा नभएको वयान दिएका छन् ।

प्रहरीले आफूलाई धाक धमकी दिएको तथा भाईलाई समेत मुद्दामा फसाई दिने भन्दै आफैले लेखेर ल्याएको कागजमा सही छाप गराएको उल्लेख गरेका छन् ।
सिंघानिया हत्याका मुख्य आरोपी चन्द्रदीप यादवले प्रहरी समक्ष दिएको वयानमा निलम्बित सभासद साह तथा उनका सहयोगी राम गोवीन्द यादवले १० लाखको सुपारी दिएर सिंघानियालाई हत्या गर्न लगाएको खुलासा गरेका थिए ।

अरुण सिंघानियालाई २०६६ साल फागुन १७ गते जनकपुरको शिवचौकमा गोली हानी हत्या गरिएको थियो । त्यस्तै २०६९ साल वैशाख १८ गते रामानन्द चौकमा गराइएको वम विष्फोटमा परी पाँच जनाको मृत्यु भएको सहित दुवै घटनामा साहमाथि मुद्दा चल्दैछ ।

न्यायिक छानविनको माग गर्दै बन्द
निलम्बित सभासद संजयकुमार साहलाई नियोजित तरीकाले फसाउन खोजेकोले न्यायिक छानविन समितिको माग गर्दै सद्भावना पार्टीले घोषणा गरेको जनकपुर बन्दको प्रभाव मंगलवार दिनभरी देखियो ।
मुख्य सडकका पसल तथा व्यापारिक प्रतिष्ठानहरु बन्द रहे भने स्कुल कलेजहरु पनि सञ्चालन भएनन् । विहान फाटफुट यातायातका साधनहरु चले पनि मध्यान्हपछि बन्द भएका थिए । बन्द सफल बनाउन सद्भावनाका कार्यकर्ताहरु चौक चौकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

साह दम्पत्ती अनसनमा

चार सूत्रीय माग राखी जनकचौकमा आमरण अनशनमा बसेकी संजयकुमार साहकी श्रीमती रंगीला देवी तथा सद्भावना कार्यकर्ता शिवशंकर यादवको स्वास्थ्यस्थिति निरन्तर बिग्रिन थालेको छ । दुबै जनालाई स्लाईन पानी दिएर राखिएको छ ।

त्यस्तै, प्रहरी नियन्त्रणमा रहेका संजयकुमार साह पनि आमरण अनसनमा छन् । वयानको लागी जिल्ला अदालत ल्याइएको वेला उनले आफूले न्यायीक छानविन समितिको माग मात्र गरेको बताए । उनले भने-‘प्रहरी अनुसन्धानमाथि मलाई विश्वास छैन । मेरो सम्पति रोक्का छ । झुठा मुद्दामा फसाउन खोजिदैछ । त्यसैले म छानविन समितिको माग गरेको हुँ ।’
कान्तिपुरबाट


  •  
  •  
  •