‘बागमतीमा ६० किलोमिटर लामो मानव साङ्लो हेर्न चुल्है निम्तो’

329
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (ओएनएस) : सरकारले सुरु गरेको बागमती सरसफाई महाअभियानले एकसय हप्ता पुरा गरेको छ । सयौं हप्ताको अवसरमा शनिबार बागमती नदिको आसपास सुन्दरीजलदेखि चोभारसम्म २८ किलोमिटर क्षेत्रमा मानव साङ्लो बनाउन लागिएको छ ।

तपाई आफैं आए मात्र सम्भव छ विशाल हातेमालो नाराका साथ मानव साङ्लो निर्माण तथा नदी किनारको सरसफाइ गर्न लागिएको मुख्य सचिव लीलामणी पौडेलले बताए । उनले भने, ‘नेपाल सरकारको नेतृत्वमा २०७० जेठ ५ बाट सुरु भएको बागमती सरसफाई महाअभियानको सयौं सप्ताहको अवसरमा लाखौं नागरिकको सहभागितामा मानव साङ्लो बनाउन लागेका हौं । यसले काठमाडौंबासी सबैलाई बागमती सरसफाइमा ऐक्यवद्ध बनाउँछ भन्ने विश्वास लिएका छौं । विहान साँढे ६ बजेबाट सुरु हुने कार्यक्रम ९ बजे सकिन्छ ।’

बागमती नदीको दुवैतर्फ हातेमालो गर्दै राष्ट्रिय गान गाउने र जनसहभागिता वृद्धि गर्ने मुख्यसचिव लीलामणि पौडेलले बताए । ‘बागमतीको दुवै किनारा गोकर्णदेखि चोभारसम्म हुने हातेमालो कार्यक्रममा तपाईलाई चुल्है निम्तो छ ।’ पौडेलले भने, ‘बागमती नदी किनारमा स्वस्फूर्त उपस्थित गराएर चार दशकअघिको सफा बागमती नदीमा ल्याउने लक्ष्यलाई साकार पार्ने प्रतिवद्धता गरौं । बागमतीलाई सफा बनाउने की दुर्गन्धित बनाउने हाम्रै हातमा छ ।’

सुन्दरीजलदेखि चोभारसम्मको करिब २८ किलोमिटर नदीको दुवैतर्फ किनारमा मानव साङ्लो बनाउँदा करिब ६० किलोमिटर लामो साङ्लो बन्ने छ ।

राष्ट्रिय स्वयंसेवा अभियानको सफल पाटो : डाक्टर भट्टराई
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि बागमती सरसफाइ महाअभियानमा सहभागी हुन सबैलाइृ अपिल गरेका छन् । आफु नेतृत्वको सरकारले सुरु गरेको राष्ट्रिय स्वयंसेवा अभियान अन्तर्गत बागमती सरसफाइ अभियानले मात्रै निरन्तरता पाएको बताउँदै उनले यस सकारात्मक अभियान सफल पार्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘मेरो नेतृत्वको सरकारले राष्ट्रिय स्वयंसेवा अभियान अन्तर्गत यस्ता सफाइ लगायतका सामाजिक अभियान देशव्यापी रुपमा शुरु गरे पनि निरन्तरता लिन सकेको थिएन । मुख्य सचिव लीलामणि पौडेल लगायतको अग्रसरतामा बागमती सफाइ अभियानले यसरी निरन्तरता पाउनु अत्यन्त खुशीको कुरा हो ! सबैले हात बढाऔं !!’

Baburam in Bagmati
प्रधानमन्त्री भएका बेला डाक्टर बाबुराम भट्टराई बागमती सरसफाई अभियानमा सहभागी हुँदाको तस्विर ।

नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघको साथ
बागमती सरसफाइ महाअभियानमा नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघले निशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । थानकोट यातायात, स्वयम्भु यातायात, किर्तिपुर यातायात, ललितपुर यातायात (पाटनढोका), ललितपुर मिनिबस, माउन्ट एभरेष्ट यातायात, भक्तपुर मिनिबस, उपत्यका माइक्रो, मध्य उपत्यका, साँखु यातायात, कार्यविनायक, संयुक्त यातायात, नेपाल यातायात, नेपाल बल्खु माइक्रो लगायतले विहान ६ बजे आ आफ्नो रुटमा निशुल्क सेवा दिने महासंघले जनाएको छ ।

बिहान ७ बजेभित्र व्यानरसहित साङ्लोमा सहभागी हुन आउनेलाई निःशुल्क गन्तव्यसम्म पु¥याउने र कार्यक्रम सकिएपछि तिनै स्थानमा लगेर छोड््ने व्यवस्था मिलाइएको छ महासंघका अध्यक्ष दिनेश भण्डारीले ओएनएसलाई बताए ।

कर्मचारी अनिवार्य उपस्थित हुनु पर्ने
बागमती सफाइमा अनिवार्य रुपमा उपस्थित हुन सरकारले सबै कर्मचारीलाई निर्देशन दिएको छ । शनिबार हुने बागमती सरसफाइ महाअभियान अन्तर्गतको मानव साङ्लो अभियानमा सरिक हुन सरकारले उपत्यकामा कार्यरत सबै कर्मचारीलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बागमती सफाइ तथा जनचेतना अभिवृद्धि गर्ने कार्यमा सरिक हुन उपत्यकामा कार्यरत सबै कर्मचारीलाई निर्देशन दिएको मुख्यसचिव पौडेलले बताए ।

९९ हप्तासम्ममा ३ लाख भन्दाबढी स्वयंसेवी सहभागी
९९ हप्तासम्ममा बागमती सफाइमा झण्डै ९ सय संघ र संस्थाका ३ लाख भन्दाबढी स्वयंसेवी सहभागी भइसकेका छन् । गोकर्णदेखि चोभारसम्मका १४ स्थानबाट करिव ५ हजार मेट्रिकटन फोहोर संकलन भइसकेको मुख्यसचिव पौडेलले जानकारी दिए । मानव साङ्लो बन्ने १४ खण्डमध्ये सुन्दरीजलदेखि गोकर्णसम्मको ८ किमिमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको सहयोगमा स्थानीय सरोकार समितिहरूले जिम्मा लिएका छन् ।

गौरीघाट पुलदेखि पशुपतिको तिलगंगासम्म पशुपति क्षेत्र विकास कोष, सुन्दरीघाट–चोभार खण्डका १२ क्षेत्रमा नेपाल सरकारका १२ जना सचिवको संयोजकत्वमा अलगअलग उपसमिति बनाएर जिम्मा दिएको छ । यी क्षेत्रमा सफाइमा आवश्यक पर्ने सामानहरू उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, अस्पताल, फलफूल बजार समिति, तरकारी बजार, यातायात व्यवसायीसमेतले उपलब्ध गराउने भएका छन् ।

पहिलेकै रूपमा पु¥याएपछि मात्र अभियानलाई रोक्ने
बागमतीलाई पहिलेकै रूपमा पु¥याएपछि मात्र अभियानलाई रोक्ने भन्दै यो अवधिमा काठमाडौं महानगरपालिकाले यही समयमा नदीमा फोहोर फाल्नेबाट करिब १५ लाख रुपैयाँ जरीवाना संकलन गरिसकेको छ । बागमतीको करिब ८० प्रतिशत फोहोर संकलन भइसकेको भन्दै महाअभियानले राजधानीवासीलाई स्वस्फुर्त मानव साङ्लोमा सहभागी हुन आहृवान गरेको छ ।

बागमती नदीको दुवै किनार र यस नदीका सहायक नदीका दुवै किनारमा आगामी २०७५ असारभित्र ढल र ढल प्रशोधन केन्द्र बनिसक्ने योजना बनेको छ । कोही र कसैबाट रकम संकलन नगरी सुरु भएको अभियानमा राजनीतिक दल र तिनका भातृ संगठनको कुनै सहभागिता छैन । व्यक्तिगत रूपमा भने जो कोही पनि सहभागी भइरहेको मुख्यसचिव पौडेलले बताए ।

Bagmati River
तस्विर सौजन्य : सुरेन्द्र पौड्याल (रेडियो नेपाल)


  •  
  •  
  •