कुवेतमा थुनामा रहेका २१ नेपालीलाई तत्काल फिर्ता गर्न निर्देशन

81
  •  
  •  
  •  

काठमाडौं । संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ ।
थुनामा राखेका उनीहरुको दण्ड जरिवाना तिरेर भए पनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।

थुनामा रहेका ती नागरिकहरुका लागि ५४ लाख जरिवाना तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दुतावासको भनाइ छ । त्यसैगरी समितिले उनीहरुलाई अवैधानिक ढंगले कुवेत पु¥याउने म्यानपावर कम्पनीमाथि पनि कडा कारबाही गर्न सरकारलाई सचेत गराएको छ ।

सरकारले भने कवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जनाएको छ । बैठकमा समितिका सदस्यहरुले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका ती नागरिकहरुलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका थिए ।


  •  
  •  
  •