क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना

372
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(ओएनएस) । युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार बिहान आफैं पुगेर भर्ना फारम भरेका हुन् । सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना भएका कलेजले बताएको छ ।

उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् ।

कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको भण्डारीको भनाइ छ ।

सन्दीपले क्रिकेटसँगै पढाईलाई पनि अगाडि बढाउने बताएका छन् । क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न पनि जाने उनले बताए ।


  •  
  •  
  •