‘सीपीएल’ खेल्न सन्दीप बिहीबार वेस्ट इन्डिज जाने

126
  •  
  •  
  •  

काठमाडौं । क्यारेबियन प्रिमियर लिग ‘सीपीएल’ खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिहीबार वेस्ट इन्डिज जाने भएका छन् । कोरियन चार्टर फ्लाइटबाट सीपीएल खेल्न उनी त्यसतर्फ जान लागेका हुन् ।

कोभिड –१९ को कारण ठप्प बनेको हवाई उडानको कारण यसअघि सन्दीपले प्रतियोगिता गुमाउने सम्भावना देखिएको थियो । व्यवस्थापक रमन शिवाकोटीले बुधबार ट्वीट गर्दै सन्दीप सीपीएल खेल्न जाने निश्चित भएको जानकारी गराएका छन् ।

व्यवस्थापक सिवाकोटीसहितले पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई र खेलकुद मन्त्री जगत विकलाई भेटेर सहजीकरणका लागि आग्रह गरेका थिए।

ट्रिनिडाड एन्ड टोबेगो हुँदै सन्दीप अगष्ट एक तारिखमा वेष्ट इन्डिज पुग्ने बताइएको छ । यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । ड्राफ्टबाट सन्दीपलाई जमैका तलावाजले १ करोड ५७ लाख रुपैयाँमा अनुबन्ध गरेको हो । उनले तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।

सीपीएल आयोजक र उनको टीम जमैका तालावाहले सबै खेलाडीलाई शनिबारसम्म आइपुग्न भनेको थियो। सन्दीप आयोजकले भनेकै दिन पुग्ने भएका हुन्। खेलअघि सबै खेलाडी अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नुपर्छ। सीपीएल १८ अगष्टदेखि शुरु हुँदैछ।


  •  
  •  
  •