प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको सुनुवाई हुँदै

339
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको संवैधानिक इजलाशमा आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एक इजलाशमा बुधबार १२ वटा रिटको प्रारम्भिक सुनुवाईपछि सबै रिटको संवैधानिक इजलाशमा सुनुवाई गर्ने आदेश भएको थियो । सोही अनुसार शुक्रबार संवैधानिक इजलाशमा सबै रिटको सुनुवाई हुन लागेको हो ।

प्रधानन्यायाधीश जबराको एकल इजलाशले अन्तरिम आदेश नदिइ बुधबार सुनुवाई भएका १२ सहित थप एक रिटको एक साथ संवैधानिक इजलाशमा सुनुवाई गर्ने निर्णय गरेको थियो । शुक्रबार १३ रिटमाथि संवैधानिक इजलाशमा सुनुवाई हुनेछ ।

यसअघि गएको बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, रिट निवेदक चार सांसदको तर्फबाट अधिवक्ता गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपानेसहितले बहस गरेका थिए ।

वकिलहरुले मुद्दाको सुनुवाईका लागि बृहत इजलास गठन गर्न माग गरे पनि प्रधानन्यायाधीशले अस्वीकार गरेर संवैधानिक इजलाशमा पठाएका हुन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ९ न्यायाधीश छन्। जसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन्।

संवैधानिक इजलासमा सिफारिस भएका न्यायाधीशहरू क्रमशः वरिष्ठताको क्रममा रहेका छन्। यीमध्ये प्रधानन्यायाधीश राणासहितका ५ न्यायाधीशको इजलासले प्रतिनिधिसभा विघटविरुद्धको निवेदनको सुनुवाइ गर्ने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार प्रतिनिधिसभा भंग गरेकी थिइन् । त्यसपछि विघटनको विरुद्धमा सर्वोच्चमा रिट परेका हुन् भने आन्दोलन पनि भइरहेको छ ।


  •  
  •  
  •