सेनाको छवि धुमिल्याउन अझै केही शक्ति सक्रिय छन् : प्रधानसेनापति

666
  •  
  •  
  •  

काठमाडौं, ६ वैशाख(ओएनएस) : नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनअफ कमाण्ड’ उल्लंघन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा संगठनभित्र कठोर नीति अवलम्बन जनाएको छ ।

‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ शुक्रबार शुरु भएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यंग्यको पुलिन्दाजस्तो नभएको भन्दै यसको पालना नगर्नेलाई कारवाही गरिने बताए ।

उनले भने, ‘सेनाले आचारसंहिता सप्ताह मनाउनुपर्ने अवस्था आउनु आफैमा विडम्बना र गम्भीर घटना हो ।’
पूर्खाको बलिदानबाट गौरब गर्न लायक संगठनका रुपमा नेपाली सेना उभिनुपर्ने जानकारी दिँदै प्रधानसेनापति थापाले सेनाको छवि धुमिल्याउन अझै पनि केही शक्ति सक्रिय रहेको बताए ।

आर्थिक अनियमिताविरुद्ध संगठनले लिएको शून्य सहनशीलताको नीति जंगी अड्डाबाटै शुरु गरिने भन्दै उनले विगतमा भएका अपारदर्शी क्रियाकलापले संगठनलाई पारदर्शी बनाउन कठिन भएकाले यस विषयमा सकल दर्जाले हेक्का राख्नुपर्ने बताए ।

नेपाली सेना ‘चेनअफ कमाण्ड’ र पद्धतिमा चल्नाका साथै अनुशासन र बलिदानमा मान्यता राख्ने संगठनका रुपमा राष्ट्र र जनताहितका खातिर बफादार भइ काम गरिरहेको उनको भनाइ छ ।

सेनाले प्रत्येक वर्ष पहिलो मसहनाको पहिलो साता आचारसंहिता सप्ताह मनाउने घोषणा गरेको छ । उक्त सप्ताहका क्रममा सेनाका सकल दर्जाले गर्नुपर्ने, गर्न हुने र गर्न नहुने एवं आर्थिक पारदर्शिता, भर्ना छनोट, राजनीतिक भेटघाट, सार्वजनिक अभिव्यक्ति दिँदा हेक्का राख्नुपर्नेबारे मुख्यालयदेखि तल्ला तहको निकायसम्म प्रशिक्षण दिइने भएको छ । कार्यक्रममा प्रधानसेना पति थापाले आचारसंहितासम्बन्धी पुस्तक लोकार्पण गरेका थिए ।


  •  
  •  
  •