काठमाडौं, १६ मंसिर(ओएनएस) । नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानीका मिडिया हकहित तथा संरक्षण समितिले साना लगानीमा सञ्चालित स्वरोजगारमुखी मिडियाहरुको प्रवर्द्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा शनिबार वृहत अन्तरक्रिया गरेको छ ।
नुवाकोटको ककनीमा सम्पन्न अन्तरक्रियामा सहभागीहरुले साना लगानीका मिडियाको हकहित तथा प्रवद्र्धनमा तिनै तहका सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।
साना लगानीका सञ्चारमाध्यमको प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रियामा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अबका युग सकारात्मक सन्देश प्रवाह गरी विकास र समृद्धिमा लाग्नुपर्ने युग भएकाले पत्रकारहरुलाई सकारात्मक समाचार लेख्न आग्रह गरे ।
मन्त्री पण्डितले एकादुई सञ्चारकर्मीको तर्फबाट गल्ती हुँदा नागरिकका तर्फबाट समग्र सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोण फरक पर्ने हुँदा सम्पुर्ण सञ्चारकर्मीहरुले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्ने उनको धारणा छ ।
उनले आफुले ग्रहण गरिसकेको समितिद्धारा पारित सात बुँदे ककनी प्रतिवद्धता पत्रलाई गम्भिरताका साथ लिएको बताउँदै यसमा उल्लेख भएका विषयलाई पुरा गराउन सरकारका तर्फबाट भरपुर प्रयत्न गरिने प्रतिवद्धता जनाए ।
पण्डितले समाज परिर्वतनमा पत्रकार तथा सञ्चामाध्यमको भूमिका महत्वपूर्ण रहेको प्रस्ट पार्दै त्यस्तालाई टिकाउन राज्यले केही न केही समन्वयकारी भुमिका खेल्ने बताए ।
संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारील भेलाबाट साना लगानीबाट सञ्चालित सञ्चामाध्यमहरुको पिरमर्का नजिकबाट बुझ्ने मौका मिलेको बताउँदै अबका दिनमा आफुले संसद लगायतका हरेक निकायमा यसका पक्षमा जोडदार ढंगले आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले स्वतन्त्र, वास्तविक तथा स्वावलम्बी पत्रकारहरुको संस्थाका रुपमा यो समितिले भूमिका निर्वाह गर्दै आएको आफुलाई महशुस भएको भन्दै साना लगानीका पत्रपत्रिकाहरुले व्यावसायिक एकरुपता कायम गर्न सक्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्यले नेपालका ठुला मिडियाहरु व्यापारी, तस्कर लगायतका अन्य व्यवसायीहरुका हातमा पुगेको बताउँदै साना मिडीयामैत्री नीति जारी गरिनुपर्ने बताए । मिडियामा केही कमी कमजोरी सच्चाउने तत्परता हामीमा पनि हुनुपर्ने बताए ।
उनले समानुपातिक विज्ञापन लागू नभएसम्म पत्रकार महासंघले नछाड्ने बताँउदै यसको लागि जस्तोसुकै धर्ना विरोधका कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
समितिका संयोजक एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले समाज परिवर्तनमा साना लगानीबाट सञ्चालित सञ्चारमाध्यमहरुले खेलेको भुमिकाको मूल्यांकन हुनुपर्ने बताउँदै स्थानीय तहमा सञ्चालित साना लगानीका सञ्चारमाध्यमहरुको अवस्था नाजुक रहेकाले यसको प्रवद्र्धनका लागि राज्यबाट विशेष पहल हुनुपर्ने बताए ।
लोककल्याणीका विज्ञापनको समेत बृद्धि गर्न अनुरोध गर्दै उनले समानुपातिक विज्ञापन लागू गर्न माग गरे । कार्यक्रममा समितिद्धारा परित सात बुँदे ककनी प्रतिवद्धता मन्त्री पंडितलाइ हस्तान्तरण गर्दै ककनी प्रतिवद्धता पत्र ऐतिहासिक हुने बताए ।
बुझाइएको प्रतिवद्धता पत्र लक्षित गर्दै कार्यक्रममा प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, प्रेस सेन्टरका उपाध्यक्ष बलराम थापा, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस युनीयनका उपाध्यक्ष बाला अधिकारी, मधेश मिडिया हाउसका अध्यक्ष डा. राजेश अहिराज, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुषाल, एसएसपी गणेश ठाडा मगर, ककनी गाँउपाँलिका अध्यक्ष मानबहादुर लामा लगायतले उक्त प्रतिवद्धता पत्रमा ऐक्यवद्धता जनाएका थिए । कार्यक्रममा जर्मनीका पत्रकार इभा वीनर्स जर्मनीको पत्रकारिताको वर्तमान अवस्थाबारे चर्चा गर्दै समितिले बुझाएको प्रतिवद्धताप्रति ऐक्यवद्धता जनाएकी थिइन् ।