परिमार्जन नगरे काँग्रेस-एमालेको साझा प्रस्तावलाई समर्थन गर्दैनौं : साना दल

72
  •  
  •  
  •  

काठमाडौं, २६ पुस (ओएनएस) : सरकारलाई समर्थन गरेका साना सात साना दलले काँग्रेस एमालले ल्याएको नौ वुँदे साझा प्रस्तावलाई परिमार्जन नगरे समर्थन नगर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले भावी संविधानका विवादित अन्तरवस्तुमा सहमतिका शनिबार सत्तासाझेदार एवम् संविधानसभाका साना दलहरुको छलफलपछि माले महासचिव सीपी मैनालीले काँग्रेस एमालको प्रस्ताव परिमार्जन गर्न जुरुरी भएको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संविधानका मुख्य विवादित अन्तरवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका बारेमा टुङ्गोमा पुग्न कुराकानी भएको थियो ।

एमाओवादीनेतृत्वमा रहेको ३० दलीय मोर्चाले ती विषयमा प्रस्तुत गरेको नौ बुँदा र सत्ता साझेदार दलले संवैधानिक समितिमा प्रस्तुत गरेका नौ बुँदाका बीचबाट समाधान कसरी निकाल्ने भन्ने विषयमा छलफल भएको नेकपा (माले)का महासचिव मैनालीले बताए ।

छलफलमा सत्तारुढ दल एवम् साना दलका शीर्ष नेताले प्रधानमन्त्रीलाई संविधानसभाभित्रैबाट संविधानका विवादित विषयमा सहमति निकाली माघ ८ मा नयाँ संविधान जारी गर्न सुझाव दिएको नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

छलफलमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, एनेकपा (एमाले)का वरिष्ठ नेता खनाल, उपाध्यक्ष वामदेव गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलगायतको सहभागिता रहेको थियो ।


  •  
  •  
  •