साक्षर कर्णालीका लागि सहयोगी हात जुट्दै

212
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (ओएनएस) : कर्णालीका निरक्षर नागरिकलाई साक्षर बनाउने अभियान सुरु भएको छ । समुन्नत कर्णाली नामक युवाहरुको समूहले सन् २०२० सम्ममा कर्णालीका पाँचवटै जिल्लाका नागरिकलाई साक्षर बनाउने अभियान सुरु गरेको हो । जसका लागि श्रोत जुटाउन राजधानीमा ‘कर्णालीका लागि हिडौं’ कार्यक्रम गरिएको छ ।

यहि शनिबार भएको ‘कर्णालीका लागि हिडौं’ कार्यक्रमबाट ३ सय जनालाई साक्षर बनाउन श्रोत संकलन भएको प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर बोहराले बताए । उनले भने, ‘चैत ७ गते हामीले त्रिपुरेश्वरमा रहेको ब्लु वर्ड सपिङ मलबाट सुरु भई एक घण्टाको यात्रामा बसन्तपुर डबलीमा पुगेर समापन गरिएको थियो । कार्यक्रममा सभासदहरु रणजित कर्ण, रामहरी खतिवडा, लेखक सुबिन भटराई, नायिका नम्रता श्रेष्ठ, नायक कर्मा, पूर्व मिस नेपाल इसानि श्रेष्ठ, कर्णालीका लागि योगदान पुर्याउनु भएका व्यक्तित्वहरु, युवा, विद्यार्थी लगायतको सहभागिता थियो । उक्त यात्राबाट संकलन भएको श्रोतले कर्णालीका ३ सय जनालाई साक्षर बनाउन पुग्ने अनुमान हामीले गरेका छौं ।’

शिक्षा नेपाल र समुन्नत कर्णालीले ‘कर्णालीका लागी हिडौं, थप एक साक्षर नेपाली’ अभियान स्वरुप कार्यक्रमको आयोजना गरेको हो । साक्षर कर्णाली बनाउने अभियानमा एक जना व्यक्तिले तीन हजार रुपैंयाँ योगदान दिएर वा सङ्कलन गरी सहभागी हुन सक्ने प्रमुख कार्यकारी अधिकृत बोहराले बताए ।

उनले भने, ‘२० जना सहभागी हुने गरी एउटा साक्षरता कक्षा सञ्चालन गर्न औसतमा ६० हजार रुपैंयाँ लाग्ने रहेछ । त्यसैले एक जनालाई साक्षर बनाउन ३ हजार रुपैंयाँ लाग्ने देखियो । हामीले एक जनाबाट की ३ हजार रुपैंयाँ सहयोग वा संकलनको अपेक्षा गरिेका हौं ।’

अभियानमा सामेल हुँदै नायिका नम्रता श्रेष्ठ र नायक कर्माले सबैलाई साक्षरताका लागि सहयोग गर्नु हरेक नेपाली नागरिकको दायीत्व भएको बताइन् । देशकै विकट कर्णालीका नागरिकलाई साक्षर बनाउने अभियानमा सहभागी हुन पाएकोमा खुसी लागेको बताउँदै उनीहरुले यो मौका कसैले पनि गुमाउन नहुनेमा जोड दिएका थिए । कर्णाली साक्षर अभियानका लागि देश विदेशबाट पनि श्रोत संकलन भैरहेको छ ।

‘केन्द्रीय तथ्याङ्क बिभागको तथ्याङ्क अनुसार कर्णालीमा अझै एक लाख ५२ हजार निरक्षर छन् ।’ बोहोराले थपे, ‘हामी उनीहरु सबैलाई आगामी ५ वर्ष सन् २०२० भित्रमा साक्षर बनाउने अभियानमा छौं । यसका लागि देश विदेशबाट सहयोगी हातहरु थपिँदै हुनुहुन्छ ।’

लतिपुरका वैज्ञानिक डाक्टर समिरमणी दीक्षितले एउटा साक्षरता कक्षा सञ्चालनका लागि लाग्ने खर्च अर्थात अर्थात ६० हजार रुयैंयाँ सहयोग गरेका छन् । जापान, अष्ट्रेलिया, अमेरिका सहितका अरबियन देशहरु तथा नेपालका विभिन्न जिल्लाबाट सहयोग जुट्ने क्रम जारी रहेको समुन्नत कर्णालीले जनाएको छ ।

शिक्षा नेपालको सहकार्यमा समुन्नत कर्णालीले सुरु गरेको ‘साक्षर कर्णाली २०२०’ कार्यक्रमको उद्देश्य सन् २०२० सम्ममा कर्णालीका पाँच जिल्ला (हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोट) का हरेक नागरिकलाई साक्षर बनाउनु रहेको छ ।

‘सन् २०१५ को सेप्टेम्वर सम्ममा माझफालका ६ सय १३ महिला र ३ सय ३१ पुरुष गरी जम्मा ९ सय ४४ निरक्षरलाई साक्षर बनाई पुर्ण साक्षर गाविस घोषणा गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं ।’ बोहोराले थपे, ‘एउटा साक्षरता कक्षा ३ देखि ४ महिनासम्म सञ्चालन गर्दा १५ देखि २० जनासम्म साक्षर बनाउन सकिन्छ । सन् २०१५ को सेप्टेम्वर सम्ममा डोल्पाको माझफाल गाविसका ९ सय ४४ निरक्षरलाई साक्षर बनाउन सकिन्छ भन्ने आत्मविश्वास छ ।’

Samunnat Karnali 2
तस्विर समुन्नत कर्णालीको फेसबुकबाट ।

४ महिनापछि अहिलेका निरक्षर व्यक्तिले लेखेको चिट्ठी सहयोग गर्ने निकाय तथा व्यक्तिहरुलाई सार्वजनिक गर्ने बताईएको छ । कर्णालीका युवाहरुको समूहले सुरु गरेको साक्षर कर्णाली अभियानले सरकारका तर्फबाट साक्षरताका लागि भैरहेका कार्यक्रमलाई टेवा पुग्ने कर्णालीका शिक्षा क्षेत्रका सरोकारवालाहरुको अपेक्षा छ ।


  •  
  •  
  •