संसद् अधिवेशन बोलाउने तयारी

121
  •  
  •  
  •  

काठमाडौं १४ बैशाख ।
संसदको आगामी अधिवेशन यही वैशाख २१ गते बोलाउने तयारी भएको छ । बजेट अधिवेशन समेत भनिने यस अवधिमा मूलत: सरकारको नीति तथा कार्यक्रम र बजेटबारे छलफल हुनेछ ।

संसद् बैठकका लागि सभामुख ओनसरी घर्तीले उक्त मितिसहितको प्रस्ताव सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेकी हुन् । समयमै बजेट अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी ओलीसमक्ष भएको परामर्शका आधारमा प्रस्ताव गएको कानुनमन्त्री अग्नि खरेलले बताए ।

‘संविधानअनुसार समयमै अधिवेशनका लागि सरकारले पर्याप्त गृहकार्य गरेको छ । सोहीअनुसार बैठकका लागि सभामुख र प्रधानमन्त्रीबीच भएको छलफलका आधारमा बैठक बोलाउने तयारी भएको हो,’ उनले भने ।

सभामुख घर्तीले वैशाख २१ गते बैठकका लागि आवश्यक गृहकार्यसहित राष्ट्रपतिलाई जानकारी गराएकी हुन् । संसद् छली केही अध्यादेश ल्याउने तयारी भइरहेको भन्ने प्रमुख विपक्षी कांग्रेसको आक्षेपविपरीत सरकारले बैठकको तयारी गरेको हो । ‘संसद् छल्नुपर्ने कुनै कारण छैन, हामी नयाँ संविधानअनुसार समयमै बैठक बोलाउन गइरहेका छौं,’ मन्त्री खरेलले भने ।

खासगरी न्यायाधीश नियुक्तिका सन्दर्भमा अध्यादेश ल्याउन लागेको भन्दै कांग्रेसले एमालेको आलोचना गरेको थियो । तर, प्रधानमन्त्री ओलीले वैशाखभित्रै संसद् अधिवेशन बोलाइनुपर्ने, सबै विषयको छलफल संसदमै गर्नुपर्ने भन्ने सहितको राय सभामुख घर्तीलाई दिएका थिए । सोहीअनुसार सरकारसँगको परामर्शमै राष्ट्रपतिसमक्ष पत्र पठाइएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताए । ‘अधिवेशन बोलाउनुअघि राष्ट्रपतिलाई जानकारी दिने प्रचलनअनुसारै सभामुखज्यूले पत्र पठाउनुभएको हो,’ उनले भने, ‘यसमा सरकारको सम्मति छ ।’

यसबारे मन्त्रिपरिषद्ले कुनै आधिकारिक निर्णय गरिसकेको छैन । अबको अधिवेशनमा संसदको नयाँ नियमावलीको पनि टुंगो लाग्नेछ । गत हिउँदे अधिवेशनमै मस्यौदा समिति बनाई काम सुरु हुँदा पनि संसदीय सुनुवाइमा सहमति हुन नसक्दा नियमावलीको काम अपुरो भएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •