सदनको गतिरोध खोलेर मात्रै अमेरिका जान विपक्षीको आग्रह

50
  •  
  •  
  •  

काठमाडौं ३ असोज (ओएनएस) : संसदको गतिरोध नखुलाई प्रधानमन्त्री सुशील कोईराला अमेरिका जान लागेको भन्दै विपक्षी दलहरुले आक्रोश व्यक्त गरेका छन् ।

उनीहरुले रातभर वार्ता गरेर भएपनि संसद खोलेर मात्रै अमेरिका जान प्रधानमन्त्रीसँग माग गरेका छन् । प्रधानमन्त्री शुक्रबार संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जादै छन्।

विपक्षी दलहरुको तर्फबाट बोल्दै एकीकृत नेकपा माओवादीका सभासद् जनार्दन शर्माले सहमतिका लागि सरकारले कुनै पहल नगरेको आरोप लगाए । उनले संसदको गतिरोध नखोली विदेश जानु सुहाउँदो नभएको बताए ।

शर्माले भने,‘ प्रधानमन्त्री आज अमेरिका जाँदैहुनुहुन्छ तर संसदलाई यत्तिकै छाडेर अमेरिका जान सुहाँउदैन, आज रातभरी बसेर भएपनि सहमति गरौं अनि भोली जानुस् ।’

एकीकृत नेकपा माओवादी र मधेशवादी दलले ४ बुँदे सहमति कार्यान्वयन माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् । सदन खुलाउने विषयमा शुक्रबार विहानैदेखि छलफल भएपनि सहमति हुन सकेन ।

अवरोध भएको संसद खोल्नका लागि विहानैदेखि छलफल भएपछि दिउँसो एक बजे बोलाईएको संसद बैठक झण्डै पौने २ घण्टा ढिलो सुरु भएको थियो । सहमति नगरि प्रधानमन्त्री अमेरिका जाने तयारी भएपछि शर्माले चार बुँदे सहमति गलत थियो भन्न वा कार्यान्वयन गर्न चुनौति दिए ।

प्रधानमन्त्री सम्बोधनका लागि केहीबेर सदन खोल्न सरकारले गरेको आग्रहलाई विपक्षीले अस्वीकार गरेका थिए । विदेश भ्रमण जाँदा प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्ने तथा सभासदहरुका सुझाव सुन्ने परम्परा छ । सदन नखुलेपछि प्रधानमन्त्री त्यतिकै अमेरिका जाँदै छन् ।


  •  
  •  
  •