१२ सांसद अंगिकृत

172
  •  
  •  
  •  

काठमाडौं २८ पुस ।
नयाँ संविधानले नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलालाई नागरिकताबाट बञ्चित गरेको प्रचार तराई-मधेसमा भइरहेका बेला दोस्रो संविधानसभामा मात्रै कम्तिमा १२ जना अंगिकृत सभासद् रहेको तथ्य भेटिएको छ । यी सबै सभासद संविधानसभाको समापनसँगै स्वत रुपान्तरित भएर बनेको ब्यवस्थापिका संसदको सदस्यका रुपमा देशको सर्वोच्च विधायनी अंगमा बहाल छन् ।

दोस्रो संविधानसभा (हालको संसद) मा बहाल रहेका ५ सय ९७ सभासदमध्ये कम्तिमा १२ जना वैवाहिक अंगिृकत नागरिकता प्राप्त सभासद छन् । उनीहरू सबै जना नेपाली पुरुषसग विहे गरेका भारतीय चेली रहेको तत्कालिन संविधानसभा सचिवालय (हालको संसद सचिवालय) को अभिलेखमा उल्लेख छ । तत्कालिन सभासद्हरुले भरेको वैयक्तिक विवरण अनुसार एक दर्जन सभासद्ले वैवाहिक अंगिृकत नागरिकता प्राप्त गरेको देखिन्छ ।

सचिवालयका एक अधिकारीका अनुसार तत्कालिन संविधानसभामा अंगिृकत नागरिकता भएका सभासदको संख्या एक दर्जन भन्दा बढी हुन सक्छ । ‘सबैको नागरिकताको अभिलेख भिकाएर कुनै अध्ययन भएको छैन,’ ती अधिकारीले भने, ‘तत्कालिन सभासद् स्वयंले भरेको वैयक्तिक विवरणका आधारमा १२ जनामात्रै अंगिकृत देखिएपनि अरु कतिपयले त्यस्तो विवरण उल्लेख नगरेका पनि हुन सक्छन् ।’

अंगिकृत सभासद्मध्ये संविधान निर्माणको प्रक्रियाको अगुवाई गरेका कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र नेकपा (संयुक्त)का ६ सभासद्ले संविधानको सक्कल प्रतिमा हस्ताक्षर गरेका छन् । संविधानको सक्कल प्रतिमा हस्ताक्षर नगरेका ६ मध्येका दूई सभासद् संविधान निर्माण पछिको पहिलो सरकारमा सहभागि फोरम (लोकतान्त्रिक) का हुन । बाँकी चार जनामा संविधान निर्माणसंग असन्तुष्ट संघिय समाजवादी फोरम र नेपाल सद्भावना पार्टी (अनिल झा नेतृत्वको) एक/एक र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका दुई सभासद् हुन् । अंगीकृत सांसदमध्ये प्रत्यक्ष निर्वाचनमा विजयी कांग्रेसकी सीतादेवी यादव (सिराहा(३) र एमालेकी नेजमा आलम (बारा(४) छन् । बाँकी सबै अंगिृकत सांसदहरु सम्बन्धीत दलले देशभरी प्राप्त गरेको समानुपातिक मतको कोटाबाट संविधानसभामा प्रवेश पाएका हुन् ।

नेपालले आधारभूतरुपमा वंशजका आधारमा नागरिकता दिने अभ्यास गरे पनि नेपाली नागरिकसंग विवाहगरी नेपालमै वसोबास गर्न आउने विदेशी बुहारीलाई सहजै अंगिकृत नागरिकता दिने गरेको छ । गत असोज ३ मा नयाँ संविधान लागू भएदेखि पुसको पहिलो साताभित्रमात्रै नेपालीसित विहे गरेका ५ सय ९६ जना विदेशी महिलाले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गरेका छन् । तराई(मधेशसहित २१ जिल्लाबाट वैवाहिक अंगिृकत नागरिकता प्राप्त गर्ने ती मध्ये अधिकांश भारतीय चेली हुन् । तर तराई(मधेशमा भने नयाँ संविधानले रोटी-बेटीको सम्बन्ध भएको छिमिकी देशबाट विवाह गरी आउने बुहारीलाई नागरिकताको हकनै नदिएको र उनीहरुका सन्तान दरसन्तालने समेत वंशजको नागरिकता नपाउने अफवाह फैलाइएको छ ।

केही साता अघि भारतको माथिल्लो सदन राज्यसभामा नेपालबारे भएको छलफलमा समेत भारतीय विदेशमन्त्री सुस्मा स्वराजले नेपालको नयाँ संविधानले नेपालीसंग विवाह गर्ने भारतीय महिलालाई नागरिकता लगायतका अधिकारबाट बञ्चित गरेको दावी गरेकी थिइन् । तर, नयाँ संविधानले अंगीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, सुरक्षानिकायमा प्रमुख, प्रदेशप्रमुख, मुख्यमन्त्री र प्रदेशसभाको सभामुखबाहेक अरू सबै पदमा निर्वाचित हुन या पुग्न पाउने अधिकारको ग्यारेन्टी गरेको छ ।

तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भने संविधानले कुनै पनि जाति, भाषा, वर्ग र क्षेत्रका नागरिकलाई विभेद नगरेको र नागरिकता सहित कुनैपनि अधिकारबाट बञ्चित नगरेको बताउँछन् । संविधानसभाले जारी गरेको संविधानमा पनि नेपालीसंग विवाह गर्ने विदेशी बुहारीलाई सजिलैसंग अंगिृकत नागरिकता दिने प्रावधानलाई निरन्तरता दिएको छ । ‘नेपाली नागरिकसंग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा नेपालको संघीय कानुन बमोजिम अंगिकृत नागरिकता प्राप्त गर्न सक्नेछ,’ संविधानको धारा ११ को उपधारा ६ मा भनिएको छ । यसरी नेपाली नागरिकता पाउने दम्पतिका सन्तानले स्वत वंशजको नागरिकता पाउने संबैधानिक प्रावधान (धारा ११ को उपधारा २, ख) छ । संविधान जारी हुन अघि जन्मका आधारमा नागरिकता प्राप्त गरेका ब्यक्तिका सन्तानले पनि बंशजको नागरिकता पाउने .(धारा ११ को उपधारा ३) ब्यवस्था छ ।

संविधानको भाग २ को धारा १० ले कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित नगरिने उल्लेख गरेको छ भने धारा ११ मा नेपाली नागरिक भित्र को(को पर्छन र कुन प्रक्रियाबाट कस्तो नागरिकता प्राप्त गर्छन् भन्ने ब्याख्या गरिएको छ ।

……

आशा चतुरवेदी, पर्सा, फोरम (लोकतान्त्रिक)
उषा यादव, सिराह, संघीय समाजवादी फोरम
डिम्पल कुमारी झा, रौतहट, सद्भावना पार्टी नेपाल (अनिल झा नेतृत्वको)
नेजमा आलम, बारा, एमाले
फुलझरी देवी, पर्सा, एमाओवादी
माधवी रानी साह, धनुषा, सद्भावना (राजेन्द्र महतो नेतृत्वको)
मिथिला चौधरी, सप्तरी, नेकपा (संयुक्त)
रमणी राम, सप्तरी, फोरम (लोकतान्त्रिक)
राज्यलक्ष्मी गोल्छा,, मोरङ, एमाले
राजेश्वरी देवी, सर्लाही, राप्रपा (नेपाल)
शैल कुमारी देवी, सर्लाही, सद्भावना (राजेन्द्र महतो नेतृत्वको)
सीतादेवी यादव, सिराह, कांग्रेस

स्रोत- संसद सचिवालयको अभिलेख
कान्तिपुरबाट


  •  
  •  
  •