नाकाबन्दीबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

129
  •  
  •  
  •  

काठमाडौं २६ मंसिर ।
भारतले गरेको नाकाबन्दीबारे व्यवस्थापिका–संसदमा छलफल गर्न माग गर्दै केही सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। व्यवस्थापिका–संसद् सचिवालयमा सांसदहरु लक्ष्मण राजवंशी, शिवलाल थापा र जयदेव जोशीले सो प्रस्ताव आज संसद् सचिवालयमा दर्ता गराएका हुन्।

भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहन सुविधाको उल्लङ्घन हुने गरी विगत तीन महिनादेखि भारतले इन्धन, औषधिलगायतका अत्यावश्यकीय सामग्रीको आयातमा रोक लगाएको सांसदहरूले उल्लेख गरेका छन्। सांसदहरूले नेपाली जनताको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामाथि भारतले ठाडो हस्तक्षेप गरेको भन्दै त्यसबारे संसदमा छलफल गर्न जरुरी भएको जनाएका छन्।

उनीहरुले सचिवालयमा दर्ता गराएको सो प्रस्तावलाई अविलम्ब सदनको कार्यसूचीमा समावेश गरी पारित गराउनसमेत आग्रह गरेका छन्।

भारतको माथिल्लो सदनमा समेत नेपालमाथि लगाइएको नाकाबन्दीबारे चर्को बहस भइसक्दा नेपालको संसदमा भने यस विषयमा छलफल भएको छैन। नाकाबन्दीबारे संसदमा छलफल हुनुपर्ने भनेर स्वतन्त्र अवाज उठिरहेको सन्दर्भमा संसदमा यस्तो प्रस्ताव दर्ता भएको हो।

नागरिकबाट


  •  
  •  
  •