धु्रवचन्द्र गौतम र मनु ब्राजाकीलाई पद्मश्री सम्मान

179
  •  
  •  
  •  

काठमाडौं, २१ असोज (ओएनएस)  : साहित्यकारद्वय धु्रवचन्द्र गौतम र मनु ब्राजाकी पद्मश्री सम्मानबाट सम्मानित भएका छन् ।   गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले आफ्ना मातापिताको सम्झनामा स्थापना गरेको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले मंगलबार काठमाडौंमा एक समारोहबीच साहित्यकारद्वय गौतम र ब्राजाकीलाई पद्मश्री सम्मानबाट सम्मानित गरेको हो ।   दुई दर्जन उपन्याससहित चार दर्जनभन्दा बढी कृतिको रचना गरेका साहित्यकार गौतमलाई पद्मश्री साधना सम्मान प्रदान गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सम्मानस्वरुप साहित्यकार गौतमलाई प्रमाणपत्र र एक लाख रुपैयाँको चेक प्रदान गरे । यसअघि यो सम्मानबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे, आख्यानकार मदनमणि दीक्षित र संस्कृतिविद सत्यमोहन जोशी सम्मानित भएका थिए । प्रतिष्ठानले वरिष्ठ कथाकार मनु बाज्राकीलाई २ लाख रुपैयाँ राशीको पद्मश्री साहित्य सम्मान प्रदान गरेको छ । प्रतिष्ठानले अन्नपूर्णाको भोज नामक कथासंग्रहका लागि बाज्राकीलाई सम्मान प्रदान गरेको हो ।

प्रतिष्ठानले २०७० सालमा प्रकाशित कृतिमध्ये बाज्राकीको अन्नपूर्णाको भोज कथासंग्रहलाई उत्कृष्ट घोषित गर्दै बाज्राकीलाई पुरस्कृत गरेको हो । बाज्राकी अमेरिकामा रहेका कारण उनका छोरा अमित सिंह भण्डारीले सम्मान ग्रहण गरे । यसअघि यो सम्मान तापका लागि शारदा शर्मा, आफ्नै आँखाको लयमाका लागि खगेन्द्र संग्रौला, अर्जुनदृष्टिका लागि रविन्द्र समीर र जीवन काँडा कि फूलका लागि झमककुमारी घिमिरेलाई प्रदान गरिएको थियो । गणेश रसिक, भानुभक्त पोखरेल, ध्रुव सापकोटा र अमर न्यौपानेले पनि यो सम्मान पाइसकेका छन् ।  खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले उत्कृष्ट कृतिका सर्जकलाई २०६३ सालदेखि हरेक वर्ष पद्मश्री साहित्य सम्मान प्रदान गर्दै आएको छ ।


  •  
  •  
  •