संवाद समिति संकटमा

134
  •  
  •  
  •  

काठमाडौं २९ कात्तिक ।
संविधानका विवादित विषयमा सत्तासीन दल कांग्रेस-एमालेलगायतको साझा प्रस्ताव संविधानसभामा पठाउने वा नपठाउने भन्ने विषयमा प्रमुख दलहरूबीच चर्काचर्की भएको छ।  सत्तासीन दलले संविधानसभामा ‘दुई तिहाइ बहुमतका नाममा बल मिच्याइँ गरेर उक्त प्रस्ताव अघि बढाए द्वन्द्व चर्कने’ दाबी एमाओवादीको छ भने ‘सहमतिका नाममा थप समय लिएर माघ ८ मा संविधान आउन नदिने षड्यन्त्रमा एमाओवादी लागेको’ आरोप कांग्रेस-एमालेले लगाएका छन्।  संवैधानिक-राजनीतिक सहमति तथा संवाद समितिको शुक्रबार बसेको बैठकमा सात प्रदेशसहितको उक्त प्रस्तावलाई लिएर दलहरुबीच चर्काचर्की पर्‍यो। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेको प्रस्ताव संविधानसभामा पठाउन नमिल्ने बताए। उनले समितिले यसअघिजस्तै ‘सहमति हुन नसकेको’ भन्ने बेहोराको प्रतिवेदन संविधानसभामा पठाउनुपर्ने अड्डी कसे।

कांग्रेस-एमालेले भने आफ्नो साझा प्रस्ताव संविधानसभामा पठाउनैपर्ने अडान लिएपछि दाहालले आक्रोशित हुँदै ‘सक्ने भए समितिको सभापति नै हटाउन’ चुनौती दिए। समितिका सभापति एमाओवादी नेता बाबुराम भट्टराई हुन्।

‘मैले सहमतिका लागि पाँच दिन समय थपौं भन्दा उहाँहरू (कांग्रेस-एमाले) ले मान्नुभएन’, दाहालले सञ्चारकर्मीसँग भने, ‘हैन भने सभापति हटाउनुहोस् भनें। तर त्यो कदम सही हुने छैन। त्यसो गर्नुभयो भने मुलुक राजनीतिक द्वन्द्वमा जानेछ भनेर पनि भनेको छु।’

त्यसअघि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दुई तिहाइको प्रस्ताव संविधानसभामा नपठाउने भए समितिको औचित्यमाथि प्रश्न उठ्ने बताएका थिए। ‘रामचन्द्रजी समितिको औचित्यमाथि प्रश्न गर्नुहुन्छ। म त संविधानसभाकै औचित्यमाथि प्रश्न उठ्छ भन्छु’, दाहालले समितिमा भने।

संविधानका अन्तरवस्तु र प्रक्रियाका विषयमा सहमति हुन नसक्दा संवाद समिति ‘डेडलक’ को अवस्थामा पुगेको बताउँदै दाहालले भने, ‘जति छलफल ग:यो, त्यति नै दूरी बढ्दै जाने र खाल्डो झन् ठूलो हुँदै जाने अवस्था आयो।’ निक्र्योल समितिको प्रतिवेदनबाहेक अन्य प्रस्ताव संवाद समितिले संविधानसभामा पठाउन नमिल्ने दाहालको दाबी छ।

कांग्रेस उपसभापति पौडेलले सहमतिका लागि समय थप गरेर माघ ८ मा संविधान नल्याउने प्रपञ्चमा एमाओवादी लागेको आरोप लगाए। ‘पाँच दिन थप्दा फेरि समय लम्बिँदै जान्छ र माघ ८ मा संविधान आउन कठिन हुन्छ’, पौडेलले भने, ‘एमाओवादी संविधान बनाउन तयार देखिएन।’ समिति सभापति हटाउनेतिर आफूहरू नलाग्ने पौडेलले स्पष्ट गरे।

यसअघि समितिमा सहमति जुट्न नसकेपछि सभापति भट्टराईले तीन दिन बैठक स्थगित गरेका थिए। ‘दलहरूबीचको महाभारत रोक्न मैले तीन दिनका लागि बैठक स्थगित गरेको हुँ’, भट्टराईले भने, ‘द्वन्द्व पुनरावृत्ति हुन नदिन र महाभारत रोक्ने पूरै ग्यारेन्टी त गर्न सक्दिनँ तर पनि प्रयास रहनेछ।’

सबै दल र नेताहरू स्वार्थभन्दा माथि नउठे स्थिति गम्भीर बन्ने दाबी गर्दै भट्टराईले भने, ‘तीन दिन दिनुहोस्। सहमतिका लागि म प्रयत्न गर्छु भनेर समितिमा समय मागेको छु।’ दाहाल रोल्पाबाट फर्केको भोलिपल्टै समितिको बैठक बसेको हो।

यसअघि बिहान बालुवाटारमा बसेको कांग्रेस-एमालेसहितको बैठकमा दाहालले सहमतिका लागि पाँच दिन समय थप गर्न प्रस्ताव गरेका थिए। कांग्रेस र एमालेका शीर्ष नेताहरूले पाँच दिनमा सहमति नभए के गर्ने भन्ने कुरा अहिले नै प्रस्ट गर्न दाहाललाई भनेका थिए। जबाफमा दाहालले ‘सहमति भएन भने पछि कुरा गरौंला’ भनेपछि कांग्रेस र एमालेले उनको प्रस्ताव अस्वीकार गरेका थिए।

एमाओवादी नेता एवं संवाद समिति सभापति भट्टराईले पाँच दिन थप्ने प्रस्तावलाई कांग्रेस र एमालेका केही नेताले ‘मजाक’ का रूपमा लिएको बताए। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •