एनआरएनए र प्रदेश ३ सरकारबीच कृषि बजार परियोजना सञ्चालन गर्न सहमति

599
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : गैरआवासीय नेपाली संघ (एनआरएनए) र प्रदेश ३ सरकारबीच प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्न सहमति भएको छ ।

गैरआवासीय नेपाली संघका कृषि प्रवद्र्धन समितिका प्रमुख युवराज गुरुङले परियोजना अवधिभर झण्डै दुई अर्ब लगानी हुने परियोजनामा गैरआवासीय नेपालीले निवृत्त समय बिताउन मिल्ने गरी काम गरिने बताएका छन् ।

आधुनिक कृषि बजार परियोजनाको नाम ‘मुना’ दिइएको छ । किसानले उत्पादन गरेका कृषि उपजलाई उचित मूल्यमा संकलन गरी प्रशोधन र बजारीकरणको व्यवस्था तथा उत्पादनपश्चातको नोक्सानीलाई न्यूनीकरण गर्ने जनाइएको छ ।
त्यस्तै बजारले मूल्य शृंखलामार्फत गुणस्तर कायम गर्नेछ भने कृषि व्यापार केन्द्र स्थापित गर्नेछ ।

भविष्यका किसानका प्रारुप तयार गर्न, भौगोलिक परिचय दिने उत्पादनको अन्तर्रा्ष्ट्रिय बजार प्रवद्र्धन गर्न, संसारभर प्रचलनमा आएका प्रणालीलाई लागू गर्न, आफ्नै ब्राण्ड स्थापित गर्न, सङ्कलन र बजारीकरणको आफ्नै प्रणाली अवधारणामार्फत सफा, स्तरीय र सुरक्षित खाद्यवस्तुको बिक्रीवितरण गरी समग्रमा कृषि उत्पादनलाई क्रमिकरूपमा प्रांगरिकतर्फ उन्मुख गराउँदै उपभोक्ताको हित संरक्षण गर्न एवं कृषिलाई जनस्वास्थ्यमुखी र आत्मनिर्भर बनाउन आधुनिक कृषि बजारको भूमिका रहने गैरआवासीय नेपाली संघले जनाएको छ ।

सहमतिअनुसार प्रदेश सरकार, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गैरआवासीय नेपाली संघ तथा निजी क्षेत्रको समेत संलग्नता गराई सात सदस्यीय कार्यदल निर्माण गरिनेछ ।

त्यस्तै गैरआवासीय नेपाली संघले विश्वका सदस्यलाई आह्वान गरी सामूहिक पूँजी लगानी गरी सीप, दक्षता र अनुभवलाई समेत उपयोग गर्दै आधुनिक कृषि प्रविधि र अन्तर्राष्ट्रिय जगतमा सफल भएका कृषि अभ्यासलाई मुलुकमा भित्र्याउने जनाइएको छ ।

सम्झौताअनुसार मुख्य प्रशोधन केन्द्रसहितको आधुनिक कृषि बजार काठमाडौं उपत्यकामा र हेटौँडा, चितवन, सिन्धुली, धादिङ, नुवाकोट, रामेछाप र काभ्रेमा सहायक कृषि बजार स्थापना हुनेछ भने कृषि उपज उत्पादन हुने जिल्लाका उत्पादन क्षेत्र आसपास संकलन केन्द्र स्थापना गरिनेछ ।


  •  
  •  
  •