मुलुक कुनै बहानामा हिंसामा धकेलिनुहुन्न : राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीले गरेकाे सम्बोधनको पूर्ण पाठ
151
  •  
  •  
  •  

<strong>काठमाडौं, १६ चैत </strong> राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पहिलोपटक सम्बोधन गरेकी छिन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुक अब कुनै पनि बहानामा हिंसामा धकेलिन नहुने बताइन् । उनले जनताको आवश्यकता पूरा गर्न सबै तहका जनप्रतिनिधिले परिणाममुखी काम गर्ने वेला आएको बताइन् ।

संविधानले व्यवस्था गरेअनुसारको संरचनाको निर्माण भइसकेकाले देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउँदै उनले भनिन्, ‘राजनीतिक संक्रमणकाल अन्त्य भई देश स्थायित्व र समृद्धिको युगमा प्रवेश गरेको छ । यस महान् उपलब्धिबाट राजनीतिक मात्र होइन, आर्थिक, सामाजिक क्षेत्रमा समेत ठूलो उपलब्धि र अग्रगमन हासिल गर्ने अवसर प्राप्त भएका छन् ।’ १५ मिनेटमा आफ्नो सम्बोधन सकाएकी राष्ट्रपतिले सर्वस्वीकृत र सर्वाधिक लोकतान्त्रिक विधिबाट संविधान जारी भएपछि संक्रमणकालको महत्वपूर्ण चरण पूरा भएको बताइन् ।

न्यायपालिकालाई सुदृढ पार्न सम्बद्ध पक्षको ध्यान जानुपर्ने सुझाब उनको छ । राज्यका सबै अंग, सार्वजनिक, सहकारी, समुदाय र निजी क्षेत्रमा आर्थिक अनुशासन र सदाचारको भावना राख्न सबैको ध्यानाकर्षण गराइन् । सम्पन्न तीनवटै तहका निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिता भएकोमा खुसी व्यक्त गरिन् । नेपाली समाजको वास्तविकता संघीय संसद्मा प्रतिबिम्बित भएको बताउँदै उनले राजनीतिक नेतृत्वमा समावेशितालगायत विषय र समानतासम्बन्धी उपलब्धिहरू अभिव्यक्त भएको बताइन् । उनले भनिन्, ‘निर्वाचित निकायहरूमा महिलाहरूको ४१ प्रतिशत उपस्थितिले हामीलाई गौरवबोध गराएको छ ।’

वर्तमान सरकारको दूरदृष्टि र दृढ संकल्पले आमजनतामा उत्साहको सञ्चार गरेको धारणा पनि राखिन् । विगतका शासकीय र व्यवस्थापकीय कमजोरीले नेपाल अतिकम विकसित राष्ट्र रहन पुगेकोमा राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरिन् । ठूलो संख्यामा युवाहरू विदेश पलायन भइरहेकोमा अब स्वदेशमै युवाहरूलाई समृद्धिको अभियन्ता बनाउनुपर्ने उनले सुझाब दिइन् ।

एक प्रसंगमा राष्ट्रपति भण्डारीले छिमेकी मित्रराष्ट्र तथा अन्य मुलुकसँग विकासमा सहकार्य गर्दै विश्वमा शान्ति र समृद्धिका लागि सकेजति योगदान गर्नुपर्ने बताइन् ।

<strong>घोडसवारको स्कर्टिङमा संसद् भवनसम्म</strong>
राष्ट्रपति भण्डारी अपराह्न ४ बजेपछि संघीय संसद् भवन नयाँबानेश्वर पुगेकी थिइन् । उनको सवारीमा अघिपछि घोडसवारले स्कर्टिङ गरेका थिए ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि संसद्मा भण्डारीको पहिलो सम्बोधन हो । संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्को पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गरेकी हुन् । यसअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने वेला मात्रै संसद्मा सम्बोधन गर्ने व्यवस्था थियो ।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठक प्रतिनिधि सभाहलमा बसेको थियो । प्रतिनिधि सभाका २७५ र राष्ट्रियसभाका ५९ गरी ३३४ सांसद अट्ने भएकाले बैठक प्रतिनिधि सभाको हलमा राखिएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । संघीय संसद्को बैठकको अध्यक्षता प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गरेका थिए । सभामुखको डायसमा भने राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना थिए ।
<strong>
एक महिनापछि राष्ट्रपति पुनः संसद् जाने</strong>
संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभाको पहिलो अधिवेशन केही हप्तापछि सकिँदै छ । संसद् सचिवालयका सहसचिव सुरजकुमार दुराले २० चैतअघि नै संसद्को अधिवेशन अन्त्य हुने सम्भावना रहेको बताए । सरकारले पर्याप्त बिजनेस नदिए अधिवेशन अन्त्य गर्ने स्थिति आउने उनले बताए । हाल सरकारले संसद्मा बिजनेस दिन सकिरहेको छैन । संसद् नरहेको अवस्थामा जारी भएका अध्यादेशमध्ये राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश र बेपत्ता छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धी अध्यादेश संसद्मा पेस भइसकेको छ । सरकारले चिकित्सा शिक्षा अध्यादेश संसद्मा दर्ता गरेको छ । संविधानबमोजिम बनाउनुपर्ने ४ दर्जनभन्दा बढी कानुनको मस्यौदा सरकारले टुंगो लगाउन सकिरहेको छैन । पहिलो अधिवेशन अन्त्य भएर संसद्को दोस्रो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पेस हुनेछ । १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था छ । त्यसअघि नै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएकाले राष्ट्रपति विद्यादेवी भण्डारी पुनः संघीय संसद्मा जानेछिन् ।

संघीय संसद्को पहिलो अधिवेशन कतिसम्म लम्बिने भन्ने सरकारसँग पनि भर पर्ने विषय भएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । उनले भने, ‘सरकारले जारी गरेको अध्यादेश यही अधिवेशनले टुंगो लगाइसक्नुपर्छ । सुनुवाइ समिति गठन गर्ने कि भन्ने पनि छ । सभा सञ्चालनको नियमावली टुंगो लगाउन सकिन्छ, यसबाहेक यो अधिवेशनका लागि हामीसँग धेरै कार्यसूची छैन ।’

<strong>२०७४ चैत १५ गते दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले गरेकाे सम्बोधनको पूर्ण पाठ :</strong>

प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसदका सदस्यहरू !
सबै तहका निर्वाचन सम्पन्न भएको र संविधानले व्यवस्था गरेअनुरूपका संरचनाको समेत निर्माण भइसकेको अवस्थामा देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यसबीच हामीले संविधानको व्यवस्थाअनुरूप पुनसंरचना गरिएको राजनीतिक प्रणालीलाई संस्थागत गर्ने सफलता हासिल गरेका छौँ । संविधानबमोजिम स्थानीय, प्रादेशिक र सङ्घीय जनप्रतिनिधि संस्थाहरूको निर्वाचनसमेत सम्पन्न भइसकेको छ, स्थानीय तह एवं प्रादेशिक र सङ्घीय सरकारको गठन पनि भइसकेको छ । साथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएर राजनीतिक सङ्क्रमणकाल अन्त्य भई देश स्थायित्व र समृद्धिको युगमा प्रवेश गरेको छ । यस महान उपलब्धिबाट राजनीतिक मात्र होइन, आर्थिक–सामाजिक क्षेत्रमासमेत ठूला उपलब्धिहरू र अग्रगमन हासिल गर्ने अवसर प्राप्त भएका छन् । यस राष्ट्रिय सफलता र उज्ज्वल सम्भावना उन्मुख घडीमा जनताद्वारा निर्वाचित सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई हर्ष र गौरवको अनुभूति भएको छ । देशलाई यस अवस्थासम्म ल्याइपुर्याउन नेपाली जनताले विगतमा सञ्चालन गरेका सङ्घर्षका गाथाहरूको स्मरण गर्दै यस घडीमा म सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।यसैगरी नेपाली समाजलाई अन्धकार सामन्ती युगबाट आजको अवस्थासम्म ल्याइपुर्याउन अनवरत सङ्घर्षमा आफूलाई समर्पित गर्ने महान अग्रजहरूको म आदरभावसहित स्मरण गर्न चाहन्छु ।

सर्वस्वीकृत र सर्वाधिक लोकतान्त्रिक विधिबाट साढे दुई वर्ष अघि प्रगतिशील र लोकतान्त्रिक संविधान जारी भएपछि प्रारम्भ भएको पछिल्लो र महत्वपूर्ण सङ्क्रमणकालको अत्यन्त महत्वपूर्ण चरण अब पूरा भएको छ । हामी यतिबेला जनताद्वारा निर्वाचित संविधानसभाबाट जारी गरिएको आधुनिक लोकतन्त्रका आधारभूत मान्यतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पूर्ण रूपमा कार्यान्वयन गर्ने दिशामा तीब्र गतिका साथ अगाडि बढिरहेका छौँ । यस अवसरमा म संविधान कार्यान्वयनको मूल आधारका रूपमा तीन वटै तहका निर्वाचनहरू सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि पर्ने राजनीतिक दलहरू, सरकार, सुरक्षा निकायहरू तथा निर्वाचन कार्य सम्पन्न गर्ने दायित्व प्राप्त निर्वाचन आयोगका साथै निष्पक्ष निर्वाचनको सुनिश्चिताका लागि सक्रिय सरकारी तथा अन्य निकाय एवं संस्था अनि प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

नेपाली जनताको लामो अनि कष्टपूर्ण सङ्घर्र्ष, बलिदान र त्यागपछि राष्ट्र अब पूर्ण रूपमा जननिर्वाचित प्रतिनिधिहरूको अगुवाईमा विकास, स्थिरता, समृद्धि र शान्तिको बाटोमा अग्रसर भएको छ । यस अवसरमा म अधिकार, न्याय र समानताका लागि सङ्घर्षको थालनीको विन्दुदेखि संविधान बनाउन र निर्वाचन गराउन सर्वाधिक महत्वपूर्ण योगदान दिने महान जनतामा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अब देश संविधानले निर्दिष्ट गरेको दिशामा आर्थिक विकास र समृद्धि हासिल गर्न अग्रसर हुनेछ भन्ने विश्वास लिएको छु । जनताको संवैधानिक तथा कानूनी अधिकार एवं मानवअधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै न्यायपालिकालाई सुदृढ पार्न सम्बद्ध पक्षको ध्यान पुग्नु पर्दछ । राज्यका सबै अंग, सार्वजनिक, सहकारी, समुदाय र निजी क्षेत्रमा आर्थिक अनुशासन र सदाचारको भावना प्रबल हुनुपर्नेतर्फ सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।

भर्खरै सम्पन्न भएका निर्वाचनहरूमा नेपाली जनता उत्साहपूर्ण रूपमासहभागी भएर कतै कुनै मतभेद र समस्या भए शान्तिपूर्ण विधिमार्फत वर्तमान संविधानले सुनिश्चित गरेको लोकतन्त्रको उच्चतम अभ्यासमार्फत जनप्रतिनिधि संस्थाहरू भित्रैबाट हुनुपर्दछ भन्ने अभिमत व्यक्त गरेका छन् । त्यसैले संसदमा आम नेपालीको विश्वास प्रतिबिम्बित छ । पौने तीन करोड नेपालीले यातायात, सञ्चार ऊर्जाको विकास र विस्तार, कृषि, पर्यटन र सेवाका क्षेत्रहरूको आधुनिकीकरण र विस्तार, गुणस्तरीय र सुलभ शिक्षा एवं स्वास्थ्य, स्वच्छ खानेपानी र स्वस्थ वातावरण, उद्योग र व्यापारको समुचित विकास, लोकतन्त्रको रक्षा, सामाजिक न्याय र राष्ट्रिय एकता एवं राष्ट्रिय हितको रक्षा र सम्बद्र्धन गर्दै राष्ट्रिय गौरव र स्वाभिमानलाई अघि बढाएर सुशासन र विकासको बाटो हुँदै समग्र आर्थिक, सामाजिक विकासको माध्यमबाट मुलुकलाई समृद्धिको नयाँ उचाइमा पुर्याउने विश्वास पनि यस जनता र जनप्रतिनिधि संस्थाप्रति उत्तरदायी सरकारबाट हुन्छ भन्ने अपेक्षा गरेका छन् । अझ वर्तमान सरकारको स्पष्ट दुरदृष्टि र दृढ सङ्कल्पले आमजनतामा उत्साहको सञ्चार गरेको छ ।

नेपाली समाजको भौगोलिक, सांस्कृतिक वा जातीय विविधतायुक्त सामाजिक वास्तविकता पनि यस सङ्घीय संसदमा प्रतिबिम्बित छ । यो संसद नेपालको विविधताबीचको एकताको उत्कृष्ट उदाहरण हो । लामो समयदेखि माग हुँदैआएको राजनीतिक नेतृत्वमा समावेशिता लगायतका विषयहरू र समानतासम्बन्धी उपलब्धिहरू हाम्रा निर्वाचित निकायहरूमा सुस्पष्ट रूपमा अभिव्यक्त भएका छन् । निर्वाचित निकायहरूमा महिलाहरूको एकचालीस प्रतिशत उपस्थितिले हामीलाई गौरवबोध गराएको छ । हाम्रा निर्वाचित निकायहरूमा हिजोसम्म पछाडि परेका समुदायको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित गरेर हामीले विश्वकै सामु दृष्टान्त प्रस्तुत गरेका छौँ ।

राजनीतिक आबद्धताका दृष्टिले कसैलाई सत्तापक्ष र कसैलाई प्रतिपक्ष भन्न सकिएला, तर आमरूपमा यस संसदका हरेक सदस्यले आफ्ना मतदाताको आशा र भरोसाको सदैव सम्मान गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । नेपाल अब कुनै पनि बहानामा हिंसातर्फ धकेलिन हुँदैन । देशको जीर्ण आर्थिक–सामाजिक परिवेशले हामीलाई अग्रगामी रूपान्तरणका दिशामा केन्द्रीत भएर अघि बढ्न निर्देशित गरेको छ । अब जनताका आवश्यकता र चाहनाको परिपूर्तिका लागि सवै तहका जनप्रतिनिधिहरू आ–आफ्नो कर्तव्यमा समर्पित हुन आवश्यक छ । त्यसैले जनचाहना र आवश्यकताको सम्बोधन गर्न जनप्रतिनिधिहरूबाट निष्ठापूर्वक कर्तव्यपालना हुनेछ भन्ने मैले विश्वास लिएको छु । क्षेत्र, सम्प्रदाय र दलगत राजनीतिभन्दा माथि उठेर जनता र देशको सर्वोपरी हितमा अघि बढ्न यो संसद प्रयत्नशील रहने छ भन्ने मेरो विश्वास रहेको छ ।

जननिर्वाचित यस सङ्घीय संसदमा आउनुभएका सम्पूर्ण सदस्यहरूलाई समतामूलक, समाजवाद उन्मुख, पूर्ण लोकतान्त्रिक,एकताबद्ध र समृद्ध मुलुकका रूपमा चिनाउने कार्यमा समर्पित हुन आह्वान गर्दछु । नेपालको गौरवशाली स्वाधिन इतिहास, सुन्दर प्रकृति र विविध संस्कृतिलाई हाम्रा पुर्खाले रक्षा गर्दै विश्व समुदायसमक्ष देशभक्त, स्वाभिमानी र बहादुर जनताको देश भनेर नेपालको चिनारी स्थापित गरेका हुन् । तर विगतका शासकीय र व्यवस्थापकीय कमजोरीका कारण समयक्रममा नेपाल अतिकम विकसित राष्ट्रका रूपमा चिनिन पुगेको छ । ठूलो सङ्ख्यामा नेपाली युवा रोजगारीका लागि विदेश पलायन भइरहेका छन् । आजको परिवर्तन र प्राप्त उपलब्धिको जगमा युवा समुदायको ऊर्जा र जाँगरको प्रयोग देश निर्माणका लागि हुनुपर्छ भन्ने आकाङ्क्षाको अब भरपर्दो ढङ्गले सम्बोधन हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । यति ठूलो उपलब्धिको हिस्सेदार, उपभोक्ता र अब विकास र समृद्धिको अभियानका अभियन्ता हाम्रा युवाहरूलाई कसरी बनाउने सोच्नै पर्दछ । भविष्यका युवा तथा देश विकासको आधारको रूपमा रहेका आजका बालबालिकाको पोषण र शिक्षामा यथोचित ध्यान दिनुपर्दछ ।

लोकतन्त्र जनताको आवश्यकता परिपूर्ति गर्दै विकासको बाटो सुगम बनाउने प्रणाली हो । प्रत्येक नागरिकका लागि स्वतन्त्र भएर स्वाभिमानपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्ने राजनीतिक परिपाटी मात्र लोकतान्त्रिक प्रणाली हुनसक्छ । लोकतन्त्र भनेको थेगो हैन यो त जीवन प्रणाली हो । यो अनुभूत गर्ने विषय हो, अरूले बताइदिने विषय होइन । त्यसैले आमजनताको जीवनस्तरमा सुधार ल्याउन नसकिएको खण्डमा लोकतन्त्र अर्थहीन नारामात्र हुन जान्छ ।

<strong>प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष !</strong>
नेपाली जनता अब फेरी आफ्नो गौरवशाली इतिहास र परम्पराको पहिचान स्थापित गर्ने उद्देश्यका साथ जागरुक हुन जरुरी छ । कुनै समयमा वौद्धिकता र सम्पन्नताको केन्द्र रहेको यस भूमिलाई पुनःजागरणको युगमा पदार्पण गराउने क्षमता हामीले देखाउन आवश्यक छ । सबैका लागि समान अधिकार र समान अवसरको संवैधानिक प्रत्याभूति भएको आजको परिवेशमा हामी देश र जनताको माग र आवश्यकता अनुसार अब तीब्र गतिमा समृद्धिको यात्रातर्फ अग्रसर हुनै पर्दछ । हामीले न्यायपुर्ण आदर्श समाज निर्माण गर्नैपर्छ, यस्तो अग्रसरताका वाहक जनप्रतिनिधिहरू नै हुन् ।

यसै वर्ष सम्पन्न विभिन्न तहका निर्वाचनबाट नेपाली जनताले आफूले बनाएको नेपालको संविधानलाई थप बलशाली तुल्याएका छन् । जनप्रयासबाट निर्मित र जनभावना एवं व्यवहारबाट अनुमोदित यस संविधानले हाम्रो बाटो निर्दिष्ट गरिसकेको छ । संविधान कार्यान्वयनकै दिशामा सम्पन्न विभिन्न तहका निर्वाचनहरूमा आम जनताले जनाएको उत्साहपूर्ण सहभागिता र त्यसमार्फत अभिव्यक्त जनमतले हामीलाई समृद्ध नेपाल र सुखी नेपालीको युगान्तकारी लक्ष्य हासिल गर्ने दायित्व मात्र होइन थप अभिभारासमेत सुम्पिएका छन् । पुरानो युगबाट नयाँ युगतर्फको यो सङ्क्रमण सामान्य राजनीतिक परिवर्तन मात्र होइन । यो युगान्तकारी परिवर्तनसँगै नेपालको इतिहासमै असाधारण सम्भावनाको ढोका खुलेको छ । सामाजिक जीवनमा असमानताको अन्त्य र न्यायको प्रारम्भ हुने आधार स्थापित भएको छ । विकासको फलमा सबैको समान पहुँच स्थापित हुने न्यायपूर्ण भविष्यको स्पष्ट सङ्केत देखिएको छ ।

प्राकृतिक स्रोतले सम्पन्न यस सुन्दर र समृद्ध देशलाई हाम्रो सम्पूर्ण स्रोत, साधन र सामर्थ्यको प्रयोग गर्दै दिगो विकास र समृद्धिको बाटोमा एकताबद्ध भई अघि बढौँ । हाम्रा छिमेकी मित्र राष्ट्रहरू लगायत तमाम मित्रहरूसँग मित्रता र सहकार्यको हात बढाउँदै हाम्रो विकासका आकाङ्क्षाहरू पूरा गर्न उचित ढङ्गले समन्वय गर्दै हाम्रोमा, हाम्रा छिमेकमा र सिङ्गो विश्वमा शान्ति र समृद्धिको लागि हामीले सक्ने योगदान गरौँ ।

अबको नेपाल कुनै पनि किसिमको मनोमालिन्य, अशान्ति, दमन, भ्रष्टाचार र उत्पीडनबाट मुक्त हुनुपर्छ । हाम्रा अग्रजले सुन्दर, शान्त र न्यायपूर्ण नेपालका लागि आफ्नो जीवनसमेत उत्सर्ग गरेका थिए । अब सहिदको सपना साकार पार्ने समय आएको छ । यस अवसरमा म यो संसद, सरकार, राज्यका सबै अङ्गसहित आम चेतनशील नागरिकलाई समुन्नत समाज निर्माणको अभियानमा एक भएर योगदान गर्न आह्वान गर्दछु । इतिहासले वर्तमान पिँढीलाई हाम्रो समाजको समग्र रूपान्तरण गर्ने दायित्व सुम्पिएको छ । आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई पूर्ण सफलता मिलोस् । मेरो हार्दिक शुभकामना छ ।
धन्यवाद । <strong>कृष्ण कट्टेल/नयाँ पत्रिकाबाट</strong>


  •  
  •  
  •