संविधानले नै सेनालाई विकास निर्माणको भूमिका प्रदान गरेको छ : रक्षामन्त्री

252
  •  
  •  
  •  

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई संविधानअनुसार नै विकास निर्माणको काममा लगाएको स्पष्ट पारेका छन् ।

मंगलबारको संसद बैठकमा रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले संविधानले नै सेनालाई कानून बमोजिम विकास निर्माण र विपद व्यवस्थापनमा लगाउन सकिने उल्लेख गरिएको बताए ।

उनले भने, ‘नेपालको संविधानले नै नेपाली सेनालाई विकास निर्माणको भूमिका प्रदान गरेको छ । नेपाल सरकारले कानून बमोजिम नेपाली सेनालाई विकास निर्माण र विपद व्यवस्थापनमा प्रभावकारी ढंगले परिचालन गर्ने नीति लिएको छ ।’

सेनालाई विकास निर्माणको काममा लगाउँदा पेशागत दक्षतामा असर नपर्ने उनको भनाइ छ ।
सरकारबाट जिम्मेवारी पाएपछि नेपाली सेनाको इन्जिनियर विभागको दक्ष प्राविधिकले विकास निर्माणको काम सम्पन्न गर्दै आएको भन्दै पोखरेलले यसले राष्ट्र विकासका लागि नेपाली सेनाको पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्नमा मद्धत पुगेको बताए ।

बैठकमा उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले हालसम्म २७ वटा सडक र ३० वटा पुल निर्माण गरेको जानकारी गराए ।
नेपाली सेनाले काठमाडौं तराई द्रुतमार्ग, कर्णाली करिडोर, जाजरकोट –डोल्पा सडक, कालीगण्डकी करिडोर र बेनिघाट आरुघाट लार्के भञ्ज्याङ सडक निर्माण गरिरहेको उनले बताए ।

नेपाली सेनाको आधुनिकिकरण, सवलीकरण, पेशागत क्षमता अभिवृद्धि गर्र्दै जाने कुरालाई रक्षामन्त्रालयले उच्च प्राथमिकतामा राखेको पोखरेलले बताए ।

यस्तै उनले नेपाली सेनासँग रहेको पुराना हतियारहरुलाई नयाँ अत्याधुनिक हतियारहरुले क्रमिक रुपमा प्रतिस्थापन गरिएको उनको भनाइ छ ।


  •  
  •  
  •