राष्ट्रपतिद्वारा पाँच संवैधानिक आयोगका अध्यक्ष नियुक्त

52
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच संवैधानिक आयोगका अध्यक्ष नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई बिहीबार नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको उपस्थितिमा शीतलनिवासमा बिहीबार आयोजित समारोहमा आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ गराएका थिए ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्वाहाम्फे, संवैधानिक अंग र सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारी लगायतको सहभागिता थियो ।

संवैधानिक आयोगको अध्यक्षमा पौडेल, सुवेदी, दत्त र चौधरी संसदीय सुनुवाइबाट पास भएर गएका हुन् । मुस्लिम आयोगको अध्यक्ष समिम मियाँ अन्सारी भने संवैधानिक प्रावधानअनुसार संवैधानिक परिषदले सिफारिस गरेको ४५ दिनको म्याद पार गरेर नियुक्त भएका हुन् ।


  •  
  •  
  •