काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । गणपुरक संख्या नपुगेपछि आज बसेको परिषद्को बैठक स्थगित भएको हो । अर्को बैठक आज बेलुका ५ बजेका लागि बोलाइएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएनन् । सापकोटा नगएसँगै गणपूरक संख्या नपुगेको हो । परिषद् बैठकमा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक नियुक्तिका लागि पार्टीमा समेत कुनै छलफल नगरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसमेत असन्तुष्ट छन् । सोही कारण पनि सभामुख सापकोटा बैठकमा नगएको बुझिएको छ ।
परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । संवैधानिक आयोगहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त, राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष र ४ आयुक्त, निर्वाचन आयोगमा २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय महिला आयोगमा अध्यक्ष र ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र ४ आयुक्तको पद रिक्त छ ।
यस्तै समावेशी आयोगमा अध्यक्ष र ३ आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र ४ आयुक्त, मधेसी आयोगमा ४ आयुक्त, थारू आयोगमा ४ आयुक्त र मुस्लिम आयोगमा ४ आयुक्तको नियुक्ति हुन बाँकी छ ।