सामा चकेवा : स्नेह र संस्कृतिको पर्व

659
  •  
  •  
  •  

महोत्तरी, मंसिर(ओएनएस) : जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा सधै कुनै न कुनै पर्वको रमझम रहेकै हुन्छ । यस क्रममा स-साना माटाका आर्कषक मुर्तिहरू बनाई रमाइलोसँग मनाइने चाड सामा चकेवाका सन्दर्भमा मैथिली नारीहरुले कार्तिकको सन्ध्याकालिन वातावरणलाई मनमोहक र संगीतमय बनाएका हुन्छन् । यस क्षेत्रमा चलेको आन्दोलनले यस पर्वको रौनकतामा समेत कमी ल्याएको देखिन्छ ।

महिलाद्वारा दाजुभाइ र पतिको दिर्घायुको निम्ति मनाइने सामा चकेवा पर्वको सुरुवात छठ पर्वको पहिलो दिनबाट हुन्छ । यस दिनमा सामा चकेवाको मुर्ति बनाउन सुरू गरी हरिबोधनी एकादशी अगावै सबै मुर्ति बनाइन्छ । पदमपुराणमा उल्लेख भए अनुसार भगवान श्री कृष्णकी रानी जामवन्तीका छोरा साम्व र छोरो श्यामाबीच अघात स्नेह हुन्छ । श्यामाको चारुवक्य नामक ऋषिपुत्रसँग माया बस्छ । राज्यका महासामन्त चुडकले पनि श्यामालाई मनमनै प्रेम गरिरहेका हुन्छन् । तर, श्यामाले चुडकको प्रेम नस्वीकरेपछि उनले राजा कृष्णलाई कुरा लगाइदिन्छन् । यसबाट क्रोधित भएर कृष्णले छोरीलाई चरी बन्ने सराप दिन्छन् । आफ्नो प्रेमलाई सार्थकता प्रदान गर्न चारूवक्यले पनि महादेवको तपस्या गरी चकेवाको जुनी पाउँछन् र दुवै जना चकेवा चकेवीको रुपमा वृन्दावनमा बस्न थाल्छन् ।

राज्य भ्रमणमा रहेका राजकुमार साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग रिसाउँछन् । बहिनी सामा र चारुवक्यलाई पुनः मनुष्य बनाउन उनी विष्णुको तपस्या गर्न थाल्छन् । यता सामा र चारूवक्यको अस्तित्व नै समाप्त पारिदिने भनेर चुडकले वृन्दावनमा आगो लगाइदिन्छन् तर, वृन्दावनमा आगो दन्किरहेकै बेला भयानक आधीँबेहरीका साथ पानी पर्न थाल्दछ । त्यसै आधीबाट ढलेको रूखबाट थिचिएर चुडकको मृत्यु हुन्छ । उता भगवान विष्णुले साम्वप्रति प्रसन्न भई सामा र चारुवाक्यलाई पुनः मानिस बनाइदिन्छन् ।

सामा चकेवा पर्व रमाइलो गरी मनाइने हुँदा त्यसलाई सामा खेल पनि भनिन्छ । कतिपय ठाउँमा संगीसाथी वा नन्द भाउजुबीच एक अर्कालाई कोशेलीको रुपमा पनि सामा बनाएर आदान प्रदान गर्ने चलन पनि रहेको देखिन्छ । बढदो सहरमुखी प्रवृतिले यसको व्यापकता र लोकप्रियतामा ह्रास क्रमशः आउदै गरेको देखिन्छ ।

मिथिलाञ्चलका गाउँ गाउँमा भाइटीकादेखि कातिक महिनाको शुक्ल पूर्णिमासम्म रातको खानपिन सकेपछि सुरिला नारी कण्ठहरुबाट यी गीतहरू चारैतिर गुन्जिरहेका छन् । दिदीबहिनीले बनाएका माटाका सामाचकेवा लगायतका मूर्तीलाई अन्तिम दिन छोएर दाजुले श्रापमुक्त गराएको परम्परा अझैसम्म कायम छ । यस अवसरमा दाजुले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।​


  •  
  •  
  •