बोक्सी प्रथामा केन्द्रित खड्का र कुँवरकाे पुस्तक ‘शल्यक्रिया’सार्वजनिक

593
  •  
  •  
  •  

काठमाडौं । लेखक सञ्जय खड्का र लोग्शरी कुँवरद्वारा लिखित ‘शल्यक्रिया’ नामक पुस्तक सार्वजनिक गरिएको छ । परिवर्तनका लागि सहकार्य नेपालले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरेको हो । पुस्तक बोक्सीप्रथामा केन्द्रित रहेर छ ।

कार्यक्रममा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले आजको २१ औँ शताब्दीसम्म आइपुग्दा पनि बोक्सीको आरोपमा कुटपिट गर्नु, दिसापिसाब खुवाउनु, गाली बेइज्जती गर्नु दुःखद् विषय रहेको बताइन् । महिलामाथि हुने हिंसाका घटना कम गर्न सामहिक आवाज बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सामाजिक अभियानकर्मी राधा पौडेलले हाल समाजका घटिरहेको कुरीतिका घटना न्यूनिकरणका लागि सबै जाति, वर्ग, लिङ्ग र राजनीतिक दलसमेतले सामूहिक आवाज उठाउनुपर्ने बताइन् ।

अधिवक्ता शशी बस्नेतले समाजमा हुने यस्ता घटनाहरु न्यूनिकरणका लागि मानसिक परिवर्तनको खाँचो रहेको बताइन् ।

चेन्ज एक्सन नेपालका अध्यक्ष इन्दिरा घलेले बोक्सीको आरोप लगाएपछि पर्ने मानसिक असरले पारिवारिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिकरूपमा पनि ठूलो समस्या आउने भन्दै त्यसबारे पनि अध्ययनको आवश्यकता रहेकोमा जोड दिइन् ।

एक सय ६७ पाना रहेको उक्त पुस्तकमा नेपालमा बोक्सी प्रथा, विश्वमा बोक्सी हिंसाका घटना, मन्त्रशास्त्र, धर्मशास्त्र, धामी झाँक्रीको इतिहास, अन्धविश्वास र प्रथा साथै यस विषयमा गरिएको वैज्ञानिक विश्लेषण र बोक्सी आरोप, यातना कारण र असरका विषयलाई समेटिएको छ ।

लेखकद्वय खड्का र कुँवरले अझै पनि समाजमा पिछडिएका वर्ग नै हिंसामा पर्ने गरेको मुख्य विषयवस्तु आफ्नो पुस्तकको रहेको बताएका थिए ।


  •  
  •  
  •