नेपालमा सलह किरा प्रवेश, अध्ययन हुँदै

242
  •  
  •  
  •  

काठमाडौं । नेपालमा सलह किरा प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा सलह कीराका समूह देखिएको हो।

कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका अनुसार बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा शनिबार बिहान ७ देखि ८ बजेको बिचमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको हो ।

मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन नभएको र यसबारे अध्ययन गरेपछि मात्रै थाहा हुने केन्द्रले जनाएको छ । कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण लिने काम भइरहेको छ । सलह नेपालमा प्रवेश गरेसँगै किसान त्रसित बनेका छन् ।

सलह नेपाल प्रवेश गरेको छ । सानो झुण्डमा आएको सलहबाट हुन सक्ने क्षति कम गर्न योजनासहित प्रतिकार्यमा जुटिसकेको कृषि मन्त्रालयले जनाएको छ । तस्बिर : जितेन्द्र यादव, कृषि ज्ञान केन्द्र, बारा।

केही समयअघि अफ्रिका हुँदै भारतसम्म आएको सलहको हुल नेपाल पनि प्रवेश गर्न सक्ने सम्भावना रहेको भन्दै कृषि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो । सो कार्यदलले बनाएको कार्ययोजना अनुसार नै अब काम हुने बताइएको छ ।

फट्याङ्ग्रा प्रजातिको एक किरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।

हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ ।

यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्छ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।


  •  
  •  
  •