‘राजनीतिमा दशकौँदेखिको बेथिति र दिशाहीनताको चट्टान फोड्न सहज छैन’

263
  •  
  •  
  •  

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टीलाई राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने तेस्रो ध्रुब बनाउने लक्ष्य लिएको स्पष्ट पारेका छन् ।

र्टीका प्रभावशाली नेता मुमाराम खनाल र डा.सूर्यराज आचार्यले पार्टी छोडेपछि संयोजक मिश्रले पार्टी सदस्यलाई धैर्य गर्न आग्रह गरेका छन् ।

‘पार्टीलाई ध्रुवीकरण, पुनर्गठन र ‘सुदृढीकरण’ गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने तेस्रो ध्रुबको निर्माण गर्ने लक्ष्य लिएको छ’, उनले भनेका छन्, ‘यो आदर्श र यथार्थको धरातलमा आधारित राजनीतिक सुझबुझ हो भन्ने हाम्रो धारणा हो। यसका लागि हामीले कार्य प्रारम्भ गरिसकेका छौँ।’

संयोजक मिश्रले साझा पार्टीले विगतका अनुभवहरूलाई ध्यानमा राख्दै समान सोच भएका पार्टी, समूह र व्यक्तिसँग एकीकरण गर्ने तयारी भइरहेको पनि बताएका छन् ।

उनले ध्रुवीकरण गर्ने, पार्टीमा भएका कमजोरी सम्बोधन गर्ने र पार्टी पुनर्गठन र सुदृढिकरण गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षर गर्न सक्ने पार्टी निमाणको लक्ष्य लिएको बताएका हुन्।

शुक्रबार सामाजिक सञ्जालबाट एक सन्देश सार्वजनिक गर्दै मिश्रले आफ्नो यात्रा कायम राख्नुपर्ने भन्दै धैर्य गर्न सम्पूर्ण पार्टी सदस्यलाई आग्रह गरेका छन्। उनले खनाल र आचार्य पार्टीबाट अलग हुनुलाई खेदजनक भनेका छन्।

‘यो हप्ता पार्टीमा विकसित घटनाक्रमबाट हामीजस्तै तपाईं पनि चिन्तित हुनुहुन्छ भन्नेमा म सचेत छु। पार्टीका म लगायत केन्द्रीय नेतागण सबैले यो स्थिति नआओस् भन्नका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेका हौँ’, मिश्रले सन्देशमा भनेका छन्, ‘तर केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै गऱ्यौँ। त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो। त्यो हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो।’

मिश्रले राजनीतिमा दशकौंदेखिको बेथिति र दिशाहीनताको चट्टान फोड्न सहज नभएको र त्यसका लागि राजनीतिक सुझबुझसँगै व्यवहारिकताको खाँचो औंल्याए।

हेर्नुहोस्

साझा पार्टीका सदस्य साथीहरूलाई प्रेषित सन्देश:

यो हप्ता पार्टीमा विकसित घटनाक्रमबाट हामीजस्तै तपाईं पनि चिन्तित हुनुहुन्छ भन्नेमा म सचेत छु। पार्टीका म लगायत केन्द्रीय नेतागण सबैले यो स्थिति नआओस् भन्नका लागि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म प्रयास गरेका हौँ।

तर केन्द्रीय समितिले एक मतले पारित गरेको निर्णयमा हामी अघि बढ्नु पर्दथ्यो र हामीले त्यसै गऱ्यौँ। त्यसो गर्दा पार्टीका दुईजना महत्वपूर्ण नेता डा सूर्यराज आचार्य तथा मुमाराम खनाल हामीबाट अलग्गिनु भयो। त्यो हाम्रा लागि अत्यन्तै खेदजनक स्थिति हो।

तर जे भए पनि हामीले हाम्रो यात्रा कायम राख्नुपर्ने हुन्छ। अझ दृढताका साथ अघि बढ्नुपर्ने हुन्छ। यात्राको नियम नै यही हो। राजनीतिमा दशकौँदेखिको बेथिति र दिशाहीनताको विशाल र जब्बर चट्टान फोड्न सहज छैन। त्यसका लागि आदर्शमात्र भएर पुग्दैन राजनीतिक सुझबुझ र व्यावहारिकता दुबैको खाँचो हुन्छ। त्यो खाँचो पुरा गर्न हामी प्रतिवद्ध छौँ।

यसै परिप्रेक्षमा साझा पार्टीले विगतका अनुभवहरूलाई ध्यानमा राख्दै समान सोच भएका पार्टी, समूह र व्यक्तिहरूसँग (१) ‘एकीकरण/ध्रुवीकरण’ गर्ने, त्यसै क्रममा पार्टीमा भएका कमी कमजोरीलाई सम्वोधन गर्न पार्टी (२) ‘पुनर्गठन’ गर्ने र पार्टी (३) ‘सुदृढीकरण’ गर्दै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने तेस्रो ध्रुबको निर्माण गर्ने लक्ष्य लिएको छ। यो आदर्श र यथार्थको धरातलमा आधारित राजनीतिक सुझबुझ हो भन्ने हाम्रो धारणा हो। यसका लागि हामीले कार्य प्रारम्भ गरिसकेका छौँ।

एकीकरण/ध्रुवीकरण र पुनर्गठनबाट आर्जन हुने सम्भावित शक्तिको पहिलो परिक्षा आउँदो स्थानीय निर्वाचनमा हुनेछ जसमा काठमाडौँ महानगरपालिका लगायत देशका विभिन्न स्थानका स्थानीय सरकारको नेतृत्व जित्ने हाम्रो प्रमुख उद्देश्य हुनेछ। एकीकरण र ध्रुवीकरणको बाटोमा नगइ त्यो विजय असम्भव प्राय: हुनेछ। स्थानीय चुनावको नतिजाको प्रत्यक्ष असर त्यसपछि आउने संघीय चुनावमा पर्नेछ।

विगत ३ वर्षका आरोह-अवरोहले हामीलाई धेरै सिकाएको छ। साथसाथै यथार्थको धरातलमा हामीलाई नराम्रोसँग बजारेको पनि छ। यो क्रममा हामीले केही हासिल गऱ्यौँ, केही गुमायौँ। नदीमा घोटिँदै गएपछिमात्र ढुङ्गा चिल्लो हुँदै जाने हो। हामी गत ३ वर्षमा राम्रैसँग घोटियौँ तर त्यो अनुभवका आधारमा अब हामी परिष्कृत हुने बेला आएको छ। यसकालागी मन, वचन र कर्मले अघि बढौँ।

तपाईंको आत्मविश्वास नडगमगाओस् भन्ने म कामना गर्दछु। ७० वर्षभन्दा पुराना राजनीतिक दलहरूले जकडाएर राखेको र विकृत बनाएको समाज र यो देश रूपान्तरण गर्ने यात्रा सहज हुनेवाला थिएन र अझै पनि सहज हुने छैन।
यो जटील घडीमा चट्टान झैँ एक र दृढ रहनुभएकोमा म शीर नुहाएर तपाईंलाई नमन गर्न चाहन्छु।

कोरोना महाव्याधीको यो समयमा तपाईं, परिवार र समाजको सुस्वास्थ्यको पनि कामना गर्दछु। हामी सबैको जय होस्, नेपालको जय होस्!

स-सम्मान
रवीन्द्र मिश्र
संयोजक, साझा पार्टी
मिति: ०२ साउन २०७७


  •  
  •  
  •