साग खेलकुदको प्रचार नेताको नाममा

205
  •  
  •  
  •  

काठमाडौं २३ माघ ।

गुवाहाटी (भारत)बाट श्रीलोचन राजोपाध्याय गुवाहाटीमा शुक्रबारदेखि सुरु भएको दक्षिण एसियाली खेलकुद (साग)को १२औँ संस्करणको प्रचारप्रसार अन्तर्राष्ट्रिय प्रचलनविपरीत वरिष्ठ नेताहरूको फोटो राखेर गरिएको छ । सहरका विभिन्न स्थानमा राखिएको होर्डिङबोर्ड र फ्लेक्समा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर देखिन्छ । त्यस्तै, आसामका मुख्यमन्त्री तरुण गोगी, आयोजक प्रमुख सर्वानन्द सोनोवाल, भारतीय ओलम्पिक कमिटीका अध्यक्ष आर रामचन्द्रन र महासचिव राजीव मेहताको फोटो भएका होर्डिङबोर्ड र फ्लेक्स राखिएका छन् ।

सागको भव्य उद्घाटन

भारतले तेस्रोपटक आयोजना गरेको सागको भव्य उद्घाटन गरेको छ । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा १५ हजार दर्शकलाई मनोरञ्जन दिन विश्वस्तरीय संगीत सामग्री र ३६ प्रोजेक्टर लगाइएको थियो । यसअघि भारतले सन् १९८७ मा कोलकाता र १९९३ मा चेन्नईमा सागको आयोजना गरेको थियो ।

एक अर्ब ५० करोड बजेट

तीनपटकको स्थगनपछि भारतले गुवाहाटी र सिलोङमा सागको आयोजना गरेको हो । प्रतियोगिता सम्पन्न गर्न केन्द्र सरकारले एक अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । त्यस्तै, सुरक्षाका लागि आसामलाई ६० र सिलोङलाई सात करोड बजेट पठाएको स्थानीय पत्रिकाहरूले जनाएका छन् ।

५० रेजिमेन्टले सुरक्षा दिँदै

११ दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण सुरक्षा व्यवस्थाको जिम्मा भारतीय सेनाले लिएको छ । सेनाको ५० रेजिमेन्टका जवानहरूले गुवाहाटी र सिलोडमा सुरक्षा दिइरहेका छन् । अर्धसैनिक बल पनि परिचालन गरेको आयोजकले जनाएको छ । आयोजनास्थलमा करिब दुई हजार सिसिटिभी राखिएका छन् ।  नयाँपत्रिकाबाट


  •  
  •  
  •