निषेधाज्ञा सकिएको एक महिनासम्म बैंकले ऋण असूली र लिलामीको सूचना निकाल्न नपाउने

93
  •  
  •  
  •  

काठमाडौं । निषेधाज्ञाका कारण प्रभावित ऋणीहरुलाई राष्ट्र बैंकले थप सहुलियतको घोषणा गरेको छ ।
राष्ट्र बैंकको यो नयाँ व्यवस्थासँगै अब कुनै पनि बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञा सकिएको एक महिनासम्म निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धि सूचना जारी गर्न नपाउने भएका छन

त्यसैगरी राष्ट्र बैंकले कोभिड १९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था मिलाउने जनाएको छ ।

कोभिड(१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने व्यवस्था मिलाइने र निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै यस्ता थप व्यवस्थाहरु गरेको हो ।

निषेधाज्ञामा पनि बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई पेनल्टी लिएको, असूली र लिलामीका सूचना निकाल्दै आएका थिए । अब भने त्यो रोकिएको छ ।


  •  
  •  
  •