प्रतियोगिता र पुरस्कार

529
  •  
  •  
  •  

हामी जमिनसँग जोडिएका साहित्यकार र साहित्यकर्मीले भन्दै आयौँ, ‘लेखक र मूल्याङ्कनमा इमान्दारी छ भने, पुरस्कार राशि गौण हो । पारदर्शी ढङ्गले सही सर्जकको सही सिर्जना पुरस्कृत हुनु ठूलो कुरा हो ।’

हामीले आफ्नो विश्वासलाई कार्यान्वयन पनि गर्दै आयौँ । साना, सामान्य राशीका पुरस्कारहरूसहित विविध विधाको प्रतियोगिता गराउँदै लेखकहरूलाई प्रोत्साहित गर्दै आयौँ ।

यसरी हामीले पुरस्कृत गरेका स्रष्टा अब्बल दर्जाका साहित्यकार बनेर देखा पर्दैछन् । त्यसबाट हामीले पुरस्कृत भएको अनुभूति हामीलाई छ ।

एलबी क्षेत्री

अचेल ठूला राशिका पुरस्कारको चलन चलेको छ । लेखक भएका नाताले हाम्रा लागि पनि यो खुसीको कुरा हो ।

हामीले अथवा अन्य सर्जकले लेखेको एउटा सिर्जनाले लाख – लाख पुरस्कार पाउने वातावरण बनेको देख्नु हाम्रा लागि पनि ठूलो हर्षको विषय हो । तर, हामी सोच्छौँ – पुरस्कार सिर्जनाको मानकीकरणको प्रक्रिया पनि हो ।

पुरस्कार, एउटा नमुना सिर्जनाको छनोट, र आउँदा पुस्तालाई त्यो सिर्जना उत्कृष्टको उदाहरणको रूपमा प्रस्तुत गर्न पाउने एउटा अवसर पनि हो । एउटा सर्जकका लागि, त्यस्तो पुरस्कार एउटा कोसेढुङ्गा हो ।

एउटा ठूलो ढाढस र प्रोत्साहन हो । तर, त्यस सम्पूर्ण प्रक्रियाको आत्मामा इमान्दारी कति छ ? पारदर्शिता कति छ ? न्यायिकता कति छ ? निष्पक्षता कति छ? यो अहम प्रश्न हो । इमान्दारी छैन भने करोड त के, अरबको पुरस्कारको पनि कुनै पनि मूल्य छैन ।

प्रसङ्ग हो, भर्खरै सार्वजनिक भर्एको १२ खरी उत्कृष्ट कथाको नजिताको प्रकाशन र त्यससँगै जोडिएको आएको प्रमाणिक विधाको ।

हामी कविडाँडा साहित्य समाजमा पनि प्रतियोगिता गर्छौँ, पुरस्कार दिन्छौँ । हाम्रा साना राशिका पुरस्कारहरूको तुलनामा ठूला–ठूला राशिका पुरस्कारको संस्कृति चल्न थालेपछि हामी गहिरो सोचमा पुग्नु पनि स्वाभाविकै हो ।

तीन वर्षअघि कविडाँडा साहित्य समाज समुहले,’आगामी दिनहरूमा कविडाँडा साहित्य समाजले आफ्नो वार्षिकोत्सव राष्ट्रिय स्तरको कार्यक्रम सहित मनाउने छ’  भन्ने निर्णय गरेअनुसार कुनै वर्ष काव्यमय त कुनै वर्ष आख्यानमय गर्ने र प्रतियोगिता समेत गराउने परम्पराको थालनी गर्‍यो ।

सोही अनुरूप विगत तीन वर्षदेखि कविडाँडा साहित्य समाजको वार्षिक कार्यक्रम सम्पन्न भइ नै रहेको छ, कुनै न कुनै विधाको प्रतियोगितासहित  ।

गत वर्ष आख्यानविषेश कार्यक्रम भएकाले कथा प्रतियोगिता गराउने निर्णय भएको थियो । त्यसै वर्षदेखि नै १२ खरीले पनि आख्यान प्रतियोगिता गराउन थाल्दा हामी आफूले ताेकेको सामान्य पुरस्कार राशिले गर्दा अलिक  दुविधामा परेका थियौँ ।

हाम्रो ल्याकतभन्दा धेरै माथि १२ खरीले प्रथम, द्धितीय र तृतीयलाई रु‍.१ लाख, ६० हजार र ४० हजार अनि अन्य २२ जनालाई ५, ५ हजारको दरले पुरस्कार राशि तोक्यो ।

हाम्रो औकात बढीमा १० हजार, ७ हजार ५ सय, ५ हजार र अन्य ७ लाई प्रतिकथा २ हजारको थियो । १२ खरीको आर्थिक श्रोतको चासो हामीलाई भएन नै तर हाम्रो आर्थिक श्रोत भनेको मेरी श्रीमतीको नामको मीना लामिछाने ट्रस्टमा रहेको रू. ७ लाखको वार्षिक ब्याज नै थियो र छ  ।

देशभरिबाट बढीमा ५० जना र स्थानीय साहित्यकार १० जना गरी ६० जना जतिलाई सौराहामा बस्ने खानपीनको व्यवस्था सबै त्यसैमा थियो । तर पनि, हामीले राशिभन्दा पनि इमान र न्यायलाई सबैभन्दा ठूलो आधार मानेर, राशि कम नै भए पनि अगाडि बढ्ने निधो गर्यौँ । आज पनि हामी नयाँ योजनामा काम गरी नै रहेका छौँ ।

१२ खरीले तोकेको एउटा कथाको मूल्य रु.१ लाख मलाई बढी नै लागेको हो  । त्यहाँ ६०० जति प्रतियोगी भए सुन्नमा आएको । हामीले गरेका प्रतियोगितामा मात्र ६३ जनाका कथा पायौँ ।  खुसी नै लाग्यो । त्यसमा मुना चौधरीको कथा ‘समध’ पनि थियो जसले दोस्रो स्थान प्राप्त गर्यो  ।

गत साल १२ खरी कथा प्रतियोगितामा सहभागी भएकाहरूमध्ये कविडाँडा राष्ट्रिय आख्यान प्रतियोगितामा कसैको सहभागिता थिएन (सायद) तर केही कथा निकै स्तरीय थिए र प्रथम ५ छान्न हम्मेहम्मे परेको थियो निर्णायकलाई  । तर कुनै विवाद भएन किनकि हामीले दसभित्र परेका कथाकारलाई ‘मेरो कथा अन्त कतै प्रकाशित भएको छैन’ भन्ने कबूलनामा गराएका थियौँ ।

१२ खरी कथा प्रतियोगितामा गत वर्ष पनि यस्तै विवाद सिर्जना नभएको होइन । अहिले त्यसको पुनरावृति भयो  । गत वर्षको अनुभवबाट सिक्नु पर्ने होइन ? हामी लेखकको स्तर विकास भएन भनेर निकै चर्चा गर्छौँ ।

त्यसको जिम्मेवार को ? ठेकेदारी प्रथा ? हरि अधिकारि सरले गत वर्षको पुरस्कार र सङ्ग्रहको बारेमा कडा खालको समीक्षामा स्तर नभएको कुरा  लेख्नुभएको थियो  ।

यसै विषयमा डाक्टर रवीन्द्र समीर लेख्नु हुन्छ, ‘प्रतियोगीले लेखेको कथाको शैली, भाषा, त्यसले उठान गरेको विषय तथा सामाजिक प्रभावबारे मूल्याङ्कनकर्ताले मूल्याङ्कन गर्ने जिम्मेवारी हो । हामीले पुरष्कृत गर्दा कथा लेखनको कस्तो मोडेललाई प्रोत्साहित गर्ने भन्ने विषय आयोजक र मूल्याङ्कनकर्ताको क्षमतामा भर पर्दछ  । त्यस्तै पुरस्कार दिन लागिएको कथा पहिले कतै छापिएको थियो कि थिएन ? लेखकले पुरस्कारको लागि कुनै नकारात्मक कदम उठाएको छ कि छैन ? जस्ता तमाम विषय मूल्याङ्कनकर्ताको अध्ययनको दायरामा भर पर्दछ  । आयोजक तथा मूल्याङ्कनकर्ताले कुन ट्रेन्डलाई प्रोत्साहित गर्ने भन्ने विषय महत्वपूर्ण हो  ।’

प्रथम भएको भनिएको मुना चौधरीको कथा, शीर्षक र पात्रका नाम फेरेर नागरिक दैनिकमा प्रकाशित रहेछ । कुनै  सुदूर गाउँको पत्रिका, अथवा कुनै सकुलको मुखपत्रमा छापिएको होइन । लेखक चौधरी इमान्दार नभएको छ प्रस्टै देखियो, तर नागरिक जस्तो एउटा राष्ट्रिय दैनिकमा छापिएको कथा नपढ्ने निर्णायकले नेपाली कथाको पछिल्लो भँगालोलाई हेरिरहेका छैनन् भन्ने पनि देखियो । यो निकै नै दुर्भाग्यपूर्ण स्थिति हो ।

यसर्थ, यस केसमा पनि के लेखकलाई मात्र दोष दिन मिल्ला ? आयोजक र निर्णायकको गैर–जिम्मेवारीपन होइन ? मुनाको यो कथा नागरिकमा जेठ ३१ मा प्रकाशित भएको थियो  । कसैले त पढेकै हुनुपर्छ  । पुरस्कारको राशि एक लाख हो  । अर्थात् एउटा कथाको मूल्य एक लाख  । यति ठूलो धनराशिको पुरस्कारको प्रतियागितालाई सम्पादक र आयोजकले यति हल्का लिने ? हो सबै पढ्न सकिँदैन तर विभिन्न सोर्सबाट छानबिन जरुरी हुन्थ्यो नै  । पुरस्कार वितरण अघि लेखकबाटै कबूलनामा गराउनु पर्ने थियो, किनकि गत साल पनि विवाद आएको थियो । विचार गरौँ न ।

कथाको स्तरको पनि कुरा गरौँ  । १२ खरी लेख्छ – कालजयी कथाको खोज  । प्रथम पुरस्कार विजेताको  कथा पढ्दा  सोध्न मन लाग्छ – के यो कथा घरमा, सबैसँग, सामाजिक परिवेशमा, पढ्न  सकिन्छ ?  हामी के दिइरहेको छौँ मानक र उत्कृष्ट कथाको नाममा  हाम्रो भावि पुस्तालाई ? गत वर्ष पनि कथाकारहरू पुरस्कृत भए ।

गतवर्षका भन्दा यस वर्षका कथाको स्तर माथि गएको हो ? १ लाख, ६० हजार, ४० हजार कथाको मूल्य राख्दा कालजयी कथा भेटिए त ? कतै कथाको मूल्य नै विकृतिको आधार त बनेन ?  यस्ता विषयमाथि पनि बहस जरुरी भएकाले मैले यो लेख लेख्ने जमर्को गरेको हुँ ।


  •  
  •  
  •