भारतीय फिल्म उद्योगका ‘डन’ उपनामले परिचित चर्चित हिरो शाहरुख खान नेपाल आउँदै छन् । बलिउडमा बादशाह डनका रूपमा समेत कहलिएका शाहरुखसँग ‘सेलेक्टेड’ नेपाली फ्यान नाच्न पाउनेछन् । नेपाली फ्यानलाई किङ खानसँग नाच्ने अवसर दिलाउँदै छ– कान्साई नेरोल्याक पेन्ट्सले ।
शाहरुख कात्तिकपछि उपयुक्त समयमा काठमाडौं आउन लागेको कान्साई नेरोल्याक पेन्ट्सले बिहीबार राजधानीमा प्रेस मिट गरी जानकारी दिएको हो । नेरोल्याकले शाहरुखसँग नाच्नका लागि भाग्यशाली योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत २५ हजार रुपैयाँबराबरको कान्साई नेरोल्याक पेन्ट्स खरिद गर्दा प्रत्येक ग्राहकले एउटा स्क्र्याच कुपन पाउँछन् । सो कुपनमा भएको नम्बर एसएमएस गरेपछि त्यसबाट हरेक महिना देशभरिबाट १० जना छानिनेछन् । त्यसका लागि १० वटा मुख्य सहरलाई केन्द्र बनाइनेछ । र, हरेक क्षेत्रका सहभागीमध्येबाट एकजना भाग्यशाली छनोट गरिने कम्पनीले जनाएको छ ।
कात्तिकसम्म छानिएका जम्मा ४० जनासँग साहरुखले नाच्ने कान्साई पेन्ट्स नेपाल प्रालिका कन्ट्री हेड सत्य प्रकाशले बताए । उनले कम्पनीले स्क्र्याच कुपनमा एलइडी टिभी, फ्रिज, मोबाइल, घडी तथा शाहरुख खानले हस्ताक्षर गरेको कलम पनि उपहार स्वरूप राखेको बताए । ‘डान्स विथ डन’ नाम राखिएको सो कार्यक्रममा विल्सनविक्रम राई, नायिका प्रियंका कार्कीलगायत नेपाली कलाकार पनि सहभागी हुनेछन् ।
‘कान्साई नेरोल्याक पेन्ट्सले घर रंगाऔँ, शाहरुख खानलाई भेट्ने सपना सजाऔँ’ नारासाथ सुरु गरिएको अभियानले शाहरुखलाई पहिलोपटक नेपाल ल्याउन लागेको हो । थुप्रै सुपरहिट फिल्मका हिरो शाहरुखको डन फिल्मको ‘डनको पकडना मुस्किल नही, नामुमकिन है’ डाइलग निकै चर्चित छ । त्यसकै आधारमा नेरोल्याकले ‘डन नेपाल आउँदै छन्’ भनेर प्रचार थालेको छ ।