साहाना प्रधानको निधन

92
  •  
  •  
  •  

काठमाडौं ७ असोज (ओएनएस) : नेपाली महिला आन्दोलनकी अग्रणी तथा एमाले नेतृ साहना प्रधानकोनिधन भएको छ । गत जेठ २३ देखि अचेत अवस्थामा राजधानीको वल्खुस्थिति वयोधा अस्पतालका उपचारत प्रधानको गएराती निधन भएको हो । अस्पताल ल्याउॅदा उनलाई निमोनिया र मस्तिष्काघात भएको थियो । प्रधानको पार्थीव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन आज बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय बल्खुमा राखिने छ । आजै पशुपति आर्यघाटमा शवयात्रासहित दाहसंस्कार गरिने एमालेले जनाएको छ ।मतिष्कघातपछि प्रधानको बयोधा अस्पतालमा उपचार भइरहेको थियो । प्रधानको १८ वर्ष अघि ओपन हार्ट सर्जरी गरिएको थियो। पाँच दिनयता स्वास्थ्य उनको अवस्था गम्भीर भएको थियो ।  नेपाल कप्युनिष्ट पार्टीका संस्थापक पुष्पलालकी धर्मपत्नी साहनाले असार १३ गते ८८ वर्षमा टेकेकी हुन् । विगत तीन वर्षदेखि अस्वस्थ्यताका कारण घरमै आरम गर्नुपरे पछि उनको सक्रिय राजनीतिमा बिराम लागेको थियो ।

०६७ साल फागुन १३ गते बाथरुममा लडेर उनको हात फ्याक्चर भएको थियो । त्यसैबेला देखि उनको स्वर धोद्रो हुँदै गएको थियो । ०६८ सालसम्म प्रधान मान्छे चिन्ने, बोल्न र सामान्य हिडडुल गर्न सक्ने अवस्थामा थिइन् । ०६९ सालदेखि भने उनी हिड्न, बोल्न नसक्ने भएकी हुन् । तिहासिक आन्दोलनकी हस्ती लामो समयदेखि बिरामी हुँदा समेत पार्टी र पार्टीले प्रतिनिधित्व गरेको सरकारले कहिँ कतै उपचारका लागि लगेन । अन्य नेताहरु सामान्य बिरामी हुँदा राज्य कोषको रकम खर्च गरेर बिदेशमा उपचार गराउने गर्छन् ।

को हुन साहाना

नेतृ प्रधान महिला अधिकार स्थापना गर्न २००२ सालदेखि लागेकी थिइन् । उनले झन्डै छ दशक वामपन्थी राजनीतिमा बिताएकी छिन् । विसं १९८४ सालमा काठमाडौंको असनमा जन्मिएकी प्रधानले नेपाली कम्युनिस्ट आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेकी थिइन् । निरंकुश राणाशासन, पञ्चायती तानाशाही व्यवस्था, राजतन्त्रविरोधी आन्दोलनमा पनि सक्रिय थिइन् ।

प्रधानका एक छोरा र एक छोरी छन् । उनी छोरा र बुहारीसँगै बस्दै आएकी छिन् । उनलाई कुनै रोग नलागेको तर बुढ्यौलीले समस्या पारेको चिकित्सकहरुले बताउँदै आएका थिए । उनी कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी श्रीमती हुन् । विवाहअघिदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय उनले मुलुकमा महिला अधिकार स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।

दुई वर्षको उमेरमै आमा गुमाएपछि बुबासंग बर्मा गएकी उनी कक्षा सात पढ्दा पढ्दै नेपाल फर्किएकी थिइन् । दोस्रो विश्वयुद्धताका त्यहाँका नेपाली भागाभाग गर्दै र्फकने क्रममा २००० मा उनी नेपाल आएकी हुन् । त्यसपछि २००२ देखि नै राजनीतिमा लागेकी हुन् । २००४ साल वैशाख १७ गते नेपालमा पहिलोपटक संगठित रुपमा राणाशाही विरोधी नारा लगाउने चार महिला कार्यकर्तामध्ये सहाना प्रधान, कनकलता, स्नेहलता र साधना प्रधान थिए । त्यसक्रममा उनी पनि पक्राउ परेकी थिइन् । १५ दिन आमरण अनसन बसेपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शमशेरले आश्वासन दिएपछि मात्रै उनीहरुको आन्दोलन सेलाएको थियो ।

२००९ सालमा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट बीएको ७२ जना परीक्षार्थीमध्ये उनी एकमात्र महिला थिइन् । त्यही वर्ष उनको विवाह पुष्पलाल श्रेष्ठसंग भएको थियो । त्यसपछि पनि राणाविरोधी आन्दोलनमा लाग्दै प्रधानले महिलाका हकहितका निम्ति काम गरिरहिन् । विगतमा एमालेबाट छुट्टिएर बनेको मालेकी अध्यक्षसमेत रहेकी प्रधान हाल एमाले केन्द्रीय सदस्य छिन् । ०४६ को आन्दोलनमा संयुक्त वाममोर्चाको अध्यक्षता उनैले गरेकी थिइन् । प्रजातन्त्र पुनःस्थापनापछि गठित सरकारमा उनी उद्योग वाणिज्यमन्त्री र ०६२र६३ को आन्दोलनपछि पहिलो महिला उपप्रधान तथा परराष्ट्रमन्त्री बनेकी थिइन् ।

प्रधानको मंगलबार पशुपति आर्यघाटमा सरकारी सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
प्रधानको पार्थिव शरीरमा कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले राष्ट्रिय झण्डा ओढाएका थिए । उनलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रिय सलामी अर्पण गरेको थियो । यस्तै, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको र अखिल नेपाल महिला सङ्घका अध्यक्ष विद्यादेवी भण्डारीले सङ्घको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।  प्रधानका छोरा उमेश श्रेष्ठले प्रधानको पार्थिव शरीरमा दागबत्ती दिएका छन् ।


  •  
  •  
  •