अविचलित योद्धा

136
  •  
  •  
  •  

काठमाडौं-राजधानीका सडक–गल्लीमा क्रान्तिका नारा घन्कँदै थिए। त्यहीँ एउटा नारी आवाज अझ तिखो र चर्को स्वरमा उर्लिन थाल्यो। त्यसले नजिकको दरबार नै हल्लाइदिएपछि प्रधानमन्त्री पद्मशमशेरले त्यो आवाजलाई दरबारमा हाजिर गराए।
अहँ, त्यो दह्रो आवाज दरबारमा पनि डगमगाएन, कत्ति दबिएन, बरु झन् चर्कियो।
‘केटीहरूले पनि पढ्न पाउनुपर्छ,’ उनी पद्मशमशेरसामु कड्किइन्।
बर्मामा सात कक्षासम्म पढेकी एउटी सामान्य केटीको निर्भीक स्वरले पद्मशमशेर नतमस्तक भए। भने, ‘विचार गरिनेछ!’
‘कहिलेसम्म?’ उनी फेरि बम्किइन्।
‘१५ दिनभित्र।’
नभन्दै १५ दिनमा पहिलोपटक महिलाका लागि दरबार स्कुलको ढोका खुल्यो, प्राथमिक तहको पढाइ सुरु भयो। डिल्लीबजारस्थित कन्या स्कुल त्यसैको बदलिएको रूप हो।
त्यो हक्की र अदब स्वर अब जगतमा सुनिनेछैन। राजनीति र महिला आन्दोलनमा उनका अविचलित पाइला सोमबार राति ११ बजे ठप्प रोकिएको छ। सबै निरंकुशताविरोधी संघर्ष र लोकतान्त्रिक आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेकी कम्युनिस्ट नेत्री सहाना प्रधानको ८७ वर्षको उमेरमा निधन भएको छ।
मस्तिष्कघात र निमोनियाबाट लामो समयदेखि थलिएकी ‘महिला जागरण अभियान’ की अभियन्ता तथा २०४६ सालको जनआन्दोलनकी कमान्डर सहानाले बल्खुस्थित बयोदा अस्पतालमा अन्तिमपटक सास फेरिन्।

विसं १९८४ मा काठमाडौंमा जन्मेकी सहाना २००४ देखि निरन्तर राजनीतिमा सक्रिय थिइन्। कहिले महिला अभियान त कहिले जहानियाँ राणा शासनविरुद्ध। कहिले पञ्चायत त कहिले ‘राष्ट्रघाती निर्णय’ विरुद्ध। जीवनका सात दशक सक्रिय रुपमा समाज र देशको मुहार फेर्ने अभियानमा होमिएकी उनी तीन वर्षदेखि राजनीतिक संन्यासको अवस्थामा थिइन्। दैनिक १८ घन्टा हिँड्ने, पार्टीको प्रचारप्रसारमा नरोकिई घन्टौं भाषण गर्ने सहाना आफ्नो बलमा हलचलसम्म गर्न सक्दिनथिन्। हिँड्न, बोल्न, लेख्न सक्दिनथिन्। बेडमै खान्थिन्। कोठाभित्रैको शौचालयधरि जान सक्दिनथिन्। दिसापिसाब आए कोपरामै।
उनलाई खुवाइपियाइ, नुहाइधुवाइ, दिसापिसाब गराउने सबै काम सहयोगी इन्दिराले गर्थिन्। उनको जीवन सानेपास्थित घरको एउटा कोठामा सीमित बनेको थियो। मस्तिष्कघात र निमोनियाले थलिएकी उनलाई पछिल्लोपटक जेठ २३ गते बयोधा अस्पताल भर्ना गरियो। त्यसपछि उनी कहिल्यै घर फर्किइनन्।

‘महिला जागरण, कम्युनिस्ट आन्दोलन र निरंकुशताविरोधी आन्दोलन तीनै क्षेत्रमा उहाँले सशक्त भूमिका निर्वाह गर्नुभयो,’ २०४६ सालको परिवर्तनपछि नेकपा एमालेको एउटै कमिटीमा काम गरेका वामपन्थी नेता राधाकृष्ण मैनाली सम्झन्छन्, ‘राष्ट्रवादी, निस्वार्थी, अडानवादी र गैरजातिवादी नेता हुनुहुन्थ्यो।’

नेपाली राजनीतिमा सहानाको छवि निडर, हक्की र इमानदार नेत्रीका रूपमा थियो। भारतसँग महाकाली सन्धि हुँदा धेरै फाइदा–बेफाइदा हेरेर पक्ष–विपक्षमा लागे, तर उनी राष्ट्रहितका पक्षमा उभिइन्। ‘महाकाली सन्धि गर्दा बिजुली बराबर बाँड्न हुने, पानीचाहिँ बाँड्न किन नमिल्ने भनी प्रश्न गर्ने सहानाजी मात्र हुनुहुथ्यो,’ मैनालीले सुनाए।

असनका व्यापारी शंकरलाल र रम्भादेवी प्रधानकी तेस्रो सन्तान सहाना कम्युनिस्ट आन्दोलनमा लाग्नु आफैंमा आश्चर्यजनक थियो। बुबाको बर्मामा व्यापार थियो। उनी चुरा, पोते, टोपी, हुक्का, कोपरा, पौभा, थांका बर्मा लगेर बेच्थे। आमाको मृत्युपछि सहाना बाबुको साथमा बर्मा पुगिन्, जतिबेला उनी पाँच वर्षकी थिइन्। नेपालमा छँदा हजुरबुबाले उनको नाम ‘चिनी’ राखिदिएका थिए। बोलाउँदा ‘बद्रीफूल’।
बर्माबाट नेपाल फर्केपछि नयाँ नाम पाइन्– सहाना।

बर्मा पुगेपछि नेपालसँग उनको सम्बन्ध विच्छेदजस्तै भएको थियो। त्यही बसाइसराइँ सहाना, उनकी दिदी साधना (मनमोहन अधिकारीकी पत्नी) तथा दाजु र भाइलाई शिक्षार्जन गर्ने राम्रो अवसर बन्यो। त्यतिबेला नेपालमा सर्वसाधारणले पढ्न पाउनु ठूलो कुरा थियो। अझ महिलालाई त पढ्ने व्यवस्थै थिएन। राणा परिवारकै एक आफन्तले बर्मामा नेपाली स्कुल खोलेका थिए। सहानाले दिदी र दाजुभाइसँगै त्यही स्कुलमा पढिन्।

बर्मामा पाँच कक्षा पढ्दासम्म सहानालाई आफू नेपाली भएको थाहा थिएन। नेपाल देशबारे समेत थाहा थिएन। यसबीच कहिले नेपाली स्कुल त कहिले बर्मेली स्कुल र कहिले मद्रासी स्कुलसमेत पढ्न भ्याइन्। मद्रासी भाषा सिक्ने अवसर त्यहीँ जुर्योक।
‘म अलि ‘टम ब्वाई’ खालकी थिएँ,’ आफ्नो जीवनी ‘सहाना प्रधान : स्मृतिका आँखिझ्यालबाट’ मा उनले आफ्नो बाल्यकालबारे भनेकी छन्, ‘घरेलु काममा मेरो ध्यानै गएन।’
१९९७ सालमा चार सहिदलाई राणाहरूले मारेको खबर बर्मा पुग्यो। त्यसपछि बल्ल सहानाले थाहा पाइन्, आफ्नो देशको नाम। र, आफ्नो परिचय। त्यतिबेला दोस्रो विश्वयुद्ध सुरु भइसकेको थियो। अनेक हन्डर खाँदै २००१ असारमा प्रधान परिवार नेपाल आइपुग्यो।

२००३ सालमा सहाना केही राजनीतिक नेताको सम्पर्कमा पुगिन्। नेताहरूले राणाविरोधी आन्दोलनमा सहभागी हुन प्रस्ताव गरे।
‘पढ्न पाउने भए मात्र,’ उनले सर्त राखिन्। सर्त स्वीकार गरियो। सहानाले पर्चा बनाउने जिम्मा पाइन्। घरका सबै सदस्य सुतिसकेपछि उनी पर्चा लेख्न थाल्थिन्। २००४ वैशाख १७ गते आन्दोलनमा ओर्लिनुपर्ने भयो। पर्चा छरेर भाषण गर्नुपर्थ्याे। ‘नागरिक अधिकार दिनैपर्छ, गोलीदेखि डराउन्नौं,’ जमलमा उनले नारा लाइन्।
त्यहीँ उनको पुष्पलाल श्रेष्ठसँग पहिलो भेट भयो।

सहानाले प्राइभेट एसएलसी दिइन्। पहिलोपटक सहानासहित चार महिलाले प्राइभेट एसएलसी दिएका थिए। सबै पास भए। अन्य महिलामा उनकी दिदी साधना, अंगुरबाबा जोशी र भुवन सिंह थिए। महिलाका पक्षमा आवाज उठाउन २००४ सालमा नेपाल महिला संघ निर्माण भयो। मंगलादेवी अध्यक्ष थिइन् भने सहाना सदस्य। उनको राजनीतिक सक्रियता बढ्दै गएको परिवारलाई भने चित्त बुझेको थिएन। बुबाले चार सन्तानलाई ‘राजनीतिक वनबास’ का रूपमा लखनउमा उच्च शिक्षा अध्ययनका लागि पठाउने निर्णय गरे।

पढाइमा व्यस्त भए राजनीति र अधिकारको भूत उत्रिने आशा थियो, परिवारको। सहाना मेडिकल साइन्स पढेर डाक्टर बन्ने सपनासहित लखनउ पुगिन्। तर, बिरामी भएर साइन्स पढ्न सकिनन् र मानविकीमा भर्ना भइन्। लखनउको इशावेल थर्वल कलेजबाट आइए पास गरेर काठमाडौं फर्किइन्। २००९ सालमा उनले बिए पास गरिन्। त्यही बेला उनैको सक्रियतामा महिला प्रौढ स्कुल खोलियो।

कांग्रेसभित्र राजालाई हेर्ने दृष्टिकोणदेखि प्रजातन्त्रप्रतिको धारणासम्म वैचारिक मतभिन्नता बढेपछि एउटा समूहले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्योि। पुष्पलाल कम्युनिस्ट पार्टीका नेतृत्वकर्ता थिए। सहाना त्यही वर्षबाट कम्युनिस्ट पार्टीमा लागिन्। अर्को वर्ष जिल्ला कमिटी सदस्य भइन्। २००९ सालमा पार्टी विशेषको कामले एक महिनाका लागि सहाना भारत गइन्। फर्केलगत्तै पुष्पलालले बिहेको प्रस्ताव राखे। परिवारको इच्छाविपरीत २०१० माघ २ गते उनले पुष्पलालसँग बिहे गरिन्। त्यसपछि पढाइ रोकियो। पूर्णकालीन रूपमा उनी नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनिन्।
२००८ सालमा नगरपालिका चुनाव घोषणा भयो। तत्कालीन प्रशासनले महिलालाई मतदानबाट वञ्चित गर्ने निर्णय गरेको थियो। महिलालाई पनि मतदानको अधिकार चाहियो भनेर ठूलो आन्दोलन भयो। सहाना आन्दोलनमा उत्रिइन्। नेपाल महिला संगठन तर्फबाट उनी राजा त्रिभुवनसँग कुराकानी गर्न दरबार पुगिन्। अन्ततः अधिकार प्राप्त भयो। मंगलादेवीसँग मतभिन्नता भएपछि सहानाले २००८ सालमा नेपाल महिला संगठन खोलेकी थिइन्। उनी संगठनकी महासचिव थिइन्।
बिहेपछि पनि सहानाको राजनीतिक सक्रियता कम भएन। २०१० सालमा अञ्चल कमिटीमा थिइन्। पार्टी प्रतिबन्धित थियो, पुष्पलाललगायत नेता भूमिगत थिए। लुकिछिपी चिठीपत्र ठाउँठाउँ पुर्यालएर उनले पार्टीलाई सहयोग गरिरहिन्। २०१३ सालमा पार्टीमाथिको प्रतिबन्ध फुकेपछि उनी खुलेर प्रचारप्रसारमा लागिन्। जेठाजु गंगालाललाई तत्कालीन राणा सरकारले मृत्युदण्ड दिँदा पुष्पलाल परिवारको सर्वस्वहरण गरेको थियो। उनले परिवार चलाउन त्यतिखेर कन्या मन्दिर, शान्ति निकुञ्जलगायत स्कुलमा पढाउन थालिन्। २०१५ सालको निर्वाचनमा जागिरबाट एक महिना बिदा लिएरै उनी प्रचारमा लागिन्। पाटन, कीर्तिपुर र काठमाडौंको प्रचार उनले हेरेकी थिइन्।
यसबीच २०१७ सालमा राजा महेन्द्रले सत्ता हातमा लिए। यो घटनाले फेरि उनको र पुष्पलालको विछोड गरायो। पुष्पलाल भारत गए, उनले नेपालमै बसेर छोराछोरी सम्हालिन्। त्यही वर्ष त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तरसमेत गरिन्। २०२० देखि ०२१ सालसम्म पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाइन्। पोखराबाट फर्केर पद्मकन्या क्याम्पस र ०३० सालबाट त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाउन थालिन्। विश्वविद्यालयमा उनको जिम्मेवारी छात्रावासको वार्डेनका रूपमा पनि थियो।

राजनीतिबाट टाढिइसकेकी सहानालाई ०३६ सालको जनमत संग्रहताका पुष्पलालको विरासत थाम्न सहकर्मीले प्रोत्साहित गरे। उनी नयाँ दिल्लीमै रहँदा भिनाजु मनमोहन अधिकारीले आफ्नो नेतृत्वमा पार्टी फुटाएर नयाँ पार्टी बनाइसकेका थिए। उनलाई संस्थापन पक्षको नेतृत्व लिने दबाब आयो। पति वियोगको शोकबाट मुक्त हुन नभ्याउँदै पार्टीको नेतृत्व लिने क्रममा जनमत संग्रहमा सहाना निकै व्यस्त भइन्।
छोरीको बिहे भइसकेको र छोराले पनि मेडिकल रिप्रिजेन्टेटिभको जागिर पाइसकेकाले उनलाई पारिवारिक रूपमा राजनीतिमा लाग्न कुनै तगारो थिएन। ढुक्क भएर पूरा देश घुमेर आमसभाहरूमा भाषण गर्दै बहुदलको पक्षमा जनमत जुटाउन थालिन्।
जनमत संग्रहमा बहुदल पराजित भएपछि नेपाल कम्युनिस्ट पार्टीले धाँधली भएको ठहर गर्योा। सहानालगायत नेताले परिणम नमान्ने चेतावनी दिए।
जनताबाट समेत निरंकुशता अनुमोदन गराइसकेको पञ्चायतलाई सहानाहरूको चेतावनी सह्य हुने कुरै थिएन। तत्काल आमसभास्थलबाटै उनीहरू सबैलाई पक्राउ गरियो। राजद्रोहको अभियोग लगाएर उनलाई तीन महिना महिला जेलमा राखियो।
राजनीतिक जीवनमा विशेष परिस्थितिमा केही दिन सुरक्षित सेल्टर लिनुबाहेक कहिल्यै भूमिगत नभएकी सहाना लामो समय जेल परेको त्यो पहिलोपटक थियो। पुष्पलालले देशको मुख्य शत्रु पञ्चायत र राजतन्त्र भएकाले त्यसलाई ढाल्न पञ्चायतइतरका सबै मिल्नुपर्ने तर्क राखेका थिए। सहाना त्यसमा सहमत थिइन्। २०४२ सालमा कांग्रेसले सत्याग्रह गर्दा उनले मिलेर जाने प्रस्ताव राखिन्। कांग्रेसले महत्व दिएन। तथापि स्वतन्त्रताको आन्दोलनमा उनी होमिइरहिन्। पक्राउ परिन्। चार महिना जेलमा बिताइन्।
२०४६ सालमा पञ्चायत ढाल्ने निर्णायक आन्दोलन भयो। त्यसको तयारी भने एक वर्ष अघिदेखि सुरु भइसकेको थियो। कांग्रेस पनि कम्युनिस्टको सहयोगविना पञ्चायत ढाल्न नसक्ने निष्कर्षमा पुगिसकेको थियो। यही निष्कर्षका आधारमा दुई विपरीत ध्रुवका नेताहरूबीच घुलमिल सुरु भयो।
त्यही सेरोफेरोमा एकदिन सहानाले गणेशमान सिंहलाई सानेपास्थित आफ्नो घरमा खाना खान बोलाएकी थिइन्। गणेशमानले पहिलोपटक कांग्रेस र कम्युनिस्ट मिल्नुपर्ने आवश्यकता स्वीकार गरे।
‘गणेशमानजीले त्यो बेला हेर सहाना, हामी नमिली राजतन्त्र र पञ्चायत ढाल्न सकिन्न। तर, तिमी कम्युनिस्टहरू आफैं मिल्न सक्दैनौ, धेरै चिरा परेका छौ। कसरी मिल्न सकिन्छ? तिमीहरू सबै मिलेर आउनुपर्योट। त्यसपछि सबै प्रजातन्त्रवादीको मोर्चा बनाएर पञ्चायतविरुद्ध आन्दोलन गर्नुपर्छ भन्नुभएको थियो,’ उक्त वार्तालापका प्रत्यक्षदर्शी उमेशलाल श्रेष्ठले गएको चैतमा नागरिकसँग भनेका थिए, ‘त्यसपछि कम्युनिस्ट पार्टीहरू मिलेर आमाको नेतृत्वमा संयुक्त वाम मोर्चा बनेको हो।’

सात कम्युनिस्ट पार्टी मिलेर बनेको संयुक्त वाममोर्चाको अध्यक्ष तोकिइन्, सहाना।
कम्युनिस्टहरू वाम मोर्चाका रूपमा एक भएपछि ०४६ माघमा चाक्सीबारीमा भएको भेलाले गणेशमानको सर्वोच्च नेतृत्वमा आन्दोलन गर्ने घोषणा गरेको थियो। समग्र आन्दोलनको सर्वोच्च नेता गणेशमान भए पनि वाम मोर्चातर्फबाट भने सहानाले आन्दोलनको अगुवाइ गरेकी थिइन्। केही दिनमा उनी पक्राउ परेपछि राधाकृष्ण मैनालीले वाम मोर्चाको नेतृत्व सम्हालेका थिए। सहानाका छोरा मैनालीको मुख्य सहयोगीका रूपमा रातभर मोटरसाइकलबाट ठाउँठाउँमा पर्चा पुर्याेउन सक्रिय भएका थिए।
सहाना, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, राधाकृष्ण मैनालीसँगको छलफलपछि राजा वीरेन्द्रले चैत २६ मा प्रजातन्त्र पुनःस्थापनाको घोषणा गरेका थिए।

आन्दोलनको नेतृत्व गरेकाले महत्वपूर्ण समयमा सरकारमा गएर काम गर्नुपर्छ भनेर सबैले कर गरेपछि सहानाले उद्योग तथा वाणिज्य मन्त्रीको जिम्मेवारी स्वीकार गरिन्। पहिलोपटक मन्त्री हुँदा क्वार्टरमा नबसी आफ्नै निवासमा बसेकी थिइन्।
२०४७ मा तत्कालीन दुई कम्युनिस्ट पार्टी नेकपा (मार्क्सवादी) र नेकपा (माले) एकीकरण भई नेकपा (एमाले) बन्यो। पहिलो आमनिर्वाचन २०४८ मा सहाना नेकपा एमालेबाट काठमाडौं ४ मा विजयी भइन्।
दोस्रो जनआन्दोलनमा बुढ्यौलीका बाबजुद सहानाको सक्रियतामा कुनै कमी आएन। लोकतन्त्र स्थापनापछि पार्टीले सहानालाई फेरि सरकारमा पठाउने निर्णय गर्योम। ८० वर्षको उमेरमा सहानालाई फेरि सरकारमा जाने इच्छा थिएन। तर, पार्टी र साथीहरूकै करकापले परिवारको असहमतिका बाबजुद उनी परराष्ट्रमन्त्री भइन्। उनकै कार्यकालमा विदेशी कूटनीतिज्ञलाई देशका नेता तथा उच्चओहोदाका अधिकारीले सोझै भेट्न नपाउने नियम ल्याइएको थियो। विदेशीलाई भेट्दा परराष्ट्रको स्वीकृति लिर्नैपर्ने ‘कूटनीतिक आचारसंहिता’ उनैले बनाएकी थिइन्।

२०६४ को पहिलो संविधानसभा निर्वाचनपछि पोलिटब्युरो सदस्य भएकै कारण उनलाई पार्टीले समानुपातिक सभासदको सूचीमा राखेन।
सहाना पछिल्लो समय एक्ली भएकी थिइन्। यदाकदा नेता, शुभचिन्तक स्वास्थ्य स्थिति बुझ्न आउँथे। कतिलाई चिनेझैं गर्थिन्, कतिको वास्तै गर्दिनथिन्। कतिलाई देख्नेबित्तिकै रुन थाल्थिन् त कुनैबेला पाहुना फर्कनासाथ क्वाँक्वाँ रुन्थिन्।

एमाले संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै केपी ओली सहानालाई भेट्न पुगेका थिए। एमाले अध्यक्ष झलनाथ खनाल पनि प्रधानमन्त्री भएपछि गएका थिए। त्यतिबेलासम्म उनी अलिअलि बोल्न सक्ने थिइन्। ‘ठाउँमा त पुगियो दिदी,’ झलनाथले दुःख पोखेका थिए ‘तर, गाह्रो रहेछ।’ ‘राम्रो काम गर्नू, तर नचिप्लिनू,’ सहानाले खनाललाई आशिक दिएकी थिइन्, ‘त्यहाँ पुगेपछि धेरैजना चिप्लिँदा रहेछन्।’

एमाले उपाध्यक्ष वामदेव गौतम बरोबर भेट्न जान्थे। दसैंको टीकाको दिन त कहिल्यै बिराउँदैनथे। गृहमन्त्री भएपछि पनि गए। तीन दिनअघि पनि अस्पताल पुगेर भेटेका थिए। ‘मेरी आमा हुँदा पनि उहाँ (सहाना) आमाकै रूपमा रहनुभएको थियो। दसैंको टीका सधैं लगाउँथेँ,’ गौतम सम्झन्छन्, ‘हामी कहिलेकाहीँ विचारबाट यताउता हुन्छौं, तर उहाँ (सहाना) एउटा निश्चय गरेपछि कहिल्यै विचलित हुनुभएन।’

नागरिक दैनिकबाट 


  •  
  •  
  •