सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर

103
  •  
  •  
  •  

काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा.राजन भट्टराई तथा नेकपाका तर्फबाट वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेले आज राष्ट्रियसभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’मा हस्ताक्षर गरे ।

दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि चलाउने र सरकारका तर्फबाट पार्टीका नेताकार्यकर्ता रिहाइलगायत तीनबूँदे सहमति भएको थियो ।

सहमतिको पहिलो बुँदामा दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ । दोस्रो बुँदामा नेकपाले आफ्ना सबै राजनीतक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्न भनिएको छ ।

यस्तै तेस्रो बुँदामा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पुर्ण मुद्दा खारेज गरिने भनिएको छ ।


  •  
  •  
  •