मदन कोइराला
काठमाडौं, २२ जेठ (ओएनएस) : बृद्धावस्थामा आफूले कमाएको सम्पत्तिको ब्याज खाने सपना पालेकी काठमाडौंकी सुरेन्द्रकुमारी पौडेल (९३) को केही दिन अगाडि त्यही ब्याजको निहुमा मृत्यु भयो । व्यापारी वि के अग्रवालले आफूले कमाएर जम्मा गरेको पैसा फिर्ता नपाएपछि हृदयघातका कारण मृत्यु भयो ।
यी दुबै घटनाको तार ओरियन्टल सहकारीसँग जोडिएको छ । ओरियन्टल पीडितको कथा मानवीय संवेदनाले पनि दर्दनाक छ । ओरियन्टलमा जम्मा गरेको रकम ठगिएपछि रकम फिर्ताका लागि आन्दोलन सुरु भएयता २७ जना ओरियन्टल पीडितको ज्यान गइसकेको छ । सुधिर बस्नेतले १४ वर्ष अगाडि स्थापना गरेको ओरियन्टल सहकारीले ७ हजार निक्षेपकर्ताको करिव ४ अर्व रुपैंया ठगी गरेपछि पीडितहरू आन्दोलनमा छन् । आफ्नो निक्षेप फिर्ता हुनुपर्ने मागसहित उनीहरू विगत केही वर्षदेखि आन्दोलमा छन् । पीडितले प्रधानमन्त्री, मुख्यसचिब, सहकारी विभागदेखि कुनै यस्तो निकाय छैन, जहाँ उनीहरू नपुगेका हुन् । तर सुनुवाई भएको छैन् ।
जागिरे जीवनबाट अवकाश पाएका कर्मचारीलेसमेत संचय कोषको पैसा ओरियन्टल सहकारीमा जम्मा गरेका थिए । ‘घर जग्गा बेचेर जम्मा गरेको पैसा सबै डुब्यो’, पीडित ममत श्रेष्ठले भनिन, ‘कति आमाबुबा त औैषधी खाने पैसा नभएर नै वित्नुभयो ।’ सो सहकारीमा एकजना व्यक्तिले ६५ लाखसम्म पैसा जम्मा गरेका थिए । तर, त्यो सबै बालुवामा पानी खन्याएसरह भयो । पीडितहरूलाई पैसा फिर्ता पाउने आश नै मरिसक्यो । ‘तर पनि साश भएसम्म आश रहन्छ भनेजस्तै हामीलाई पनि कतै केही भइहाल्छ कि भन्ने छ’, अर्का पीडित सुनील शाक्य भने । सो सहकारीमा उद्योगी, व्यापारी, कर्मचारीदेखि जोगीसम्मको पैसा डुबेको छ । भक्तपुरका माहात्मा गोपाल बाबाले आफ्नो गरेको तीन लाख रुपैंया डुबेको बताए । उनी अहिले आन्दोलनकारी जस्तै नियमित आन्दोलनमा सक्रिय रहेका छन् । ‘म भगवानको सेवा गरेर बस्ने मानिस आन्दोलन गर्न लाग्नु परेको छ’, उनले भने, ‘पैसा छाड्न पनि मन छैन एउटा मन्दिर बनाउने योजना छ ।’
बुधवार ओरियन्टल सहकारीपीडितहरुले सिंहदरवारको दक्षिण गेट अगाडि धर्ना दिए । उनीहरूले सहकारीका संचालक बस्नेतलाई फाँसीसम्मको सजायको माग गरेका छन् । आन्दोलनमा साथ दिनेहरूले साथ छाडेको उनीहरूको गुनासो छ । ‘हिजो हामीसँग आन्दोलनमा रहेका साथीहरू आज नीति निर्माण तहमा पुग्नु भएको छ’, एक पीडितले नाम उल्लेख नगर्ने शर्तमा भनिन, ‘आज उहाँहरू यो समस्याबारे बेखबर जस्तै हुनुहुन्छ ।’ मुलुकमा सरकार नभएजस्तो आफ्नो आवाज नसुनेको पीडित ममत श्रेष्ठले गुनासो गरिन् । ‘सर्वसाधारणको करोडौं रुपैंया डुबेको छ’, उनले भनिन, ‘सरकार भने कानमा तेल हालेर बसेको छ ।’
सिंहदरवार अगाडि धर्ना दिइरहेका उनीहरूले सुधिर बस्नेत अहिले पनि राजधानीमा खुला रुपमा हिडिरहेको, गुण्डा पालेको र प्रत्येक राजनीतिक दलका नेताहरूलाई पैसा बुझाएका कारण सरकारले आफूहरूको कुरा नसुनेको आरोप लगाएका छन् । राजधानीको १३ स्थानमा शाखा रहेको ओरियन्टल सहकारीका संचालक बस्नेत भने हाल फरार छन् ।
