चन्द्रकान्त खनाल
रुपन्देही १९ असार (ओएनएस) : बुटवलको नेपालगंज रोड स्थित स्वर्णिम वचत तथा ऋण सहकारी संस्था डुवेको छ । सदस्यहरुबाट संकलित निक्षेप रकमलाई विना धितो अनियमित ढंगले कर्जा प्रवाह गरेपछि सहकारी डुब्न पुगेको हो ।
सहकारी संस्थाका अध्यक्ष पार्वती(पारु) ध्वजु, व्यवस्थापक मनोज भट्टराई, लगायत संचालक समितिलाई प्रहरीले नियन्त्रणमा लिई सोमबारसम्म सबै ऋण चुक्ता गराई सहकारी संचालनमा ल्याउन आदेश दिएकोमा सो बमोजिम नभएपछि मंगलवार सबै संचालक समितिका व्यक्तिलाई ठगि मुद्धा चलाएको छ ।
बुटवल क्षेत्रमा करिव चारहजार निक्षेपकर्ता भएको सहकारी यस क्षेत्रकै ठूलो र विश्वासिलो मानिदै आएको थियोे । एउटै घरपरिवारका सदस्य र उनीहरुकै व्यवसायीक प्रतिष्ठानमा कार्यरत व्यक्तिहरु मिलेर २०६५ सालमा संचालनमा आएको यो सहकारीका संस्थापक बुटवलका नाम चलेका व्यवसायी देवेन्द्र ध्वजु संस्थापक हुन् । सहकारीकी अध्यक्ष भनिने पार्वती(पारु) देवेन्द्रकी पत्नी हुन् । देवेन्द्रले सहकारीमा जम्मा भएको वचकर्ताको निक्षेप रकम करिव रु सात करोड मध्ये रु ६ करोड विना धितो ऋणको रुपमा लिएका थिए ।
बाँकी रकम पनि देवेन्द्रले आफ्नो व्यवसायीक प्रतिष्ठानबाट गाडी किन्नेहरुलाई ऋणको रुपमा दिन लगाई सबै निक्षेप रकम स्वाहा पारेका थिए । सहकारीमा पछिल्लो पटक जम्मा भएको केही निक्षेप रकम संचारमाध्यममा आएको सहकारी संकटमा भन्ने समाचारको प्रभावले गर्दा केही व्यक्तिले खाता बन्द गरी निकालिसकेका अवस्था छ ।
ध्वजु हालै बुटवलको सिनर्जी फाइनान्सका कार्यकारी अध्यक्ष पनि हुन् । फाइनान्समा करिव रु ३१ करोडको खराव कर्जा प्रवाह गरेको भनि राष्ट्र बैंकले ध्वजुलाई कारवाही चलाएपछि ध्वजुले आफ्नो ऋण हिसाव मिलानको क्रममा विभिन्न व्यक्ति, संस्थावाट ऋण लिएको देखिएको छ । उनले पैसा लिएका केही व्यक्तिले पैसा फिर्ता पाउन उनीमाथी मुद्धा चलाएपछि उनीमाथी अनुसन्धान शुरु भएको थियो । अनुसन्धानमा आफू आर्थिक संकटमा परेको वेला स्वर्णिम सहकारीमा उनकी पत्नी रहेकोले विना धितो करोडौं रकम लिएको रहस्य खुलेको हो ।