साझा पार्टीको केन्द्रीय समिति विस्तार

118
  •  
  •  
  •  

काठमाडौं । साझा पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ ।  पार्टीले आफ्नो २६ सदस्यीय केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थप गरेको हो ।

आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । नयाँ थपिएका सदस्यहरूमा कीर्ति तुलाधर रहेकी छिन् । उनी नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष बनेका तीन महिला मध्येकी एक हुन् । यस्तै उनी अन्तर्राष्ट्रिय जेसिसको पनि उपाध्यक्ष थिइन् ।

यस्तै अर्को थप सदस्यमा सुमित्रा सिंह लामा रहेकी छन् । उनले जनस्वास्थ्यमा विद्यावारिधि गरेकी छन् भने समाजसेवी तथा गत निर्वाचनमा साझा पार्टीको काठमाडौं क्षेत्र नं ३ की उमेदवार बनेकी थिइन् ।

अर्को सदस्यमा शिक्षा क्षेत्रको नीतिगत र व्यवस्थापन तहमा लामो अनुभव हासिल गरेका उच्च माध्यमिक शिक्षा परिषदका पूर्व सदस्य सचिव नारायण कोइराला रहेका छन् ।

नेपाल जेसिसका पूर्व अध्यक्ष तथा नेतृत्व प्रशिक्षक विकल शेरचन, प्रहरी सेवामा सफल कार्यकाल निर्वाह गरेका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक रोहित थापा, झापाका कम्युनिस्ट पृष्ठभूमिका समाजसेवी भिमप्रसाद अधिकारी र काभ्रेको दुई सय भन्दा बढी स्कुलमा आफ्नो अग्रसरतामा पुस्तकालयहरू निर्माण गरेका, पेशाले व्यवसायी तथा साहित्यकार विकु लामा रहेका छन् ।

साझा पार्टीले देशैभरिबाट उल्लेख्य संख्यामा महिला र युवाहरूलाई पनि पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने जनाएको छ ।

सो अवसरमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका नेपालीहरू साझा पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टी प्रतिको आशा र विश्वासलाई पुनः पुष्टी गरेको बताए ।

उनले भने, ‘नयाँ सदस्यहरूको पार्टी नेतृत्वमा आगमनले पार्टी पंक्तिको मुलुक रूपान्तरणको आत्मविश्वासलाई अझै दृढ बनाएको छ ।’


  •  
  •  
  •