सगरमाथाको उचाइ नाप्न टोली प्रस्थान

348
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई बुधबार विदाइ गरेका छन् ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली बुधबार त्यस तर्फ जान लागेको टोलीलाई प्रधानमन्त्री ओलीले बालुवाटारमा विदाई गरेका हुन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना बनाएको छ ।

शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए उनले भने, ‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला । तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।’

ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिदैं मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न सुझाव दिएका थिए ।
‘लक्ष्यमा अडिग रहनुहोस तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस। सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ’ प्रधानमन्त्री ओलीले भने ‘गाइडको निर्देशन पालना गर्नुहोला ।’
सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सो अवसरमा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।
विदाइ कार्यक्रममा मन्त्री पद्मा आर्याल पनि उपस्थित भएकी थिइन् ।


  •  
  •  
  •