सागलाई सफल बनाउने सम्पूर्णलाई प्रधानमन्त्रीको धन्यवाद

116
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद सागलाई सफल बनाउने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् ।

सागको समापनका समयमा पनि स्वास्थ्य अवस्थाका कारण रंगशालामा उपस्थित हुन नसकेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयबाट भिडियो सन्देश जारी गर्दै सहभागि सबै देशका खेलाडी, पदाधिकारी, रेफ्री, निर्णायक लगायत प्राविधिक समितिलाई समेत धन्यवाद ज्ञापन गरेका हुन् ।

भूकम्पबाट ध्वस्त भएका संरचनालाई पुनर्निमाण गरेर साग आयोजना गर्नु नेपालका लागि चुनौतिपूर्ण रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

‘यो पटक पहिलेभन्दा बढी खेल, खेलाडीको सहभागिता रह्यो, ब्यवस्थापन पनि पहिलोभन्दा धेरै राम्रो रह्यो । यो सफल र ऐतिहासिक खेलकुद महत्वसका रुपमा रहेको छ,’ प्रधानमन्त्रीले भने ।

‘दक्षिण एसियाली खेलकुदले दक्षिण एसियाली मुलुककाबीचमा एकता, मित्रता अविबृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको हुन्छ । त्यो अपेक्षा यो पटकको दक्षिण एसियाली खेलकुदले पूरा गरेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन–
दक्षिण एशियाका लागि ‘मिनि ओलम्पिक’ मानिने दक्षिण एशियाली गेमको अत्यन्तै ठूलो महत्व छ। र, यो गेम आजैबाट अत्यन्तै सफलतापूर्वक सम्पन्न हुँदैछ। म खुशी व्यक्त गर्न चाहन्छु, भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ। यसवर्ष यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीहरूको सहभागीता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको संलग्नता रहेको छ। र पदकहरू पनि यस पटकको १३ औं साग गेममा पहिले भन्दा धेरै राखिएका छन्।

समग्रतामा भन्दा एउटा सफल र ऐतिहासिक खेलकुदको रूपमा रहेको छ। दक्षिण एशियाली खेलकुदले दक्षिण एशियाली देश र जनताबीचमा एकता, मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको हुन्छ। त्यो अपेक्षा यस पटकको १३ औं दक्षिण एशियाली खेलकुदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ। 

यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु। धन्यवाद भन्न चाहन्छु। काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकुदहरू सञ्चालन हुनु र सफलतापूर्वक समग्र दक्षिण एशियाली खेलकुदको सुखद समापनमा हामी आइपुग्नु ज्यादै खुशीको कुरा हो। यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेलाडीहरू, प्रशिक्षकहरू सबैलाई पनि म धन्यवाद भन्न चाहन्छु। 

अत्यन्तै भव्य रूपमा सफल भएको यस दक्षिण एशियाली खेलकुदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु। विभिन्न मित्र देशका यस खेलमा सहभागीहरूले खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुनेछ भन्ने पनि मैले अपेक्षा गरेको छु। ‘होस्ट कन्ट्री’का खेलाडीका हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु। जुन सफलता प्राप्त गरेका छौं, सबै सफलता प्राप्त गर्ने खेलाडीहरूलाई बधाई भन्न चाहन्छु। 

हेर्नुहोस् भिडियो


  •  
  •  
  •